प्रदेश 2

खाली जग्गा अतिक्रमण गर्ने खोज्ने लखेटिए

सप्तरी । सप्तरीको कोशी टप्पु वन्यजन्तु आरक्षभित्रको खाली जग्गा अतिक्रमण गर्न आएका सयौँ मानिसलाई प्रहरीले चार राउण्ड अश्रु ग्यास प्रहार गरी आज लखेटेको छ ।  कञ्चनरुप नगरपालिका १ वैरवा नजीक आरक्षको जग्गामा घर बनाउन विभिन्न जिल्लाबाट आएका करीब पाँच सय मानिस लखेटिएका हुन् । घण्टौँसम्म खाली गर्न सम्झाउँदा नमानेपछि प्रहरीले अश्रु ग्यास प्रहार गरी आरक्षबाट उनीहरुलाई लखेटेको सप्तरी प्रहरीले जनाएको छ । उनीहरुले नजीकैको मानव वस्तीमा आश्रय लिएका छन् ।

सो क्रममा मङ्गोलियन नेशनल अर्गनाइजेशनका शक्ति चाम्लिङ राईसहितलाई पक्राउ गरिएको सशस्त्र प्रहरी उपरीक्षक खेम थापाले जानकारी दिए । अर्गनाइजेशन प्रदेश नं २ का इञ्चार्ज राईको अगुवाइमा सुकुम्बासी बस्ती बसाउन उनीहरु आएका हुन् । सरकारले जग्गा बाँडिरहेको भ्रम फिजाउँदै सुकुम्बासीलाई उक्त क्षेत्रमा बोलाइएको पाइएको छ ।

अर्गनाइजेशनले नै जग्गा वितरण भइरहेको हल्ला फैलाएर मानिस जम्मा गर्न लगाएको पाइएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बताए । बस्ती नै बसाउने योजनाका साथ आएका उनीहरुलाई प्रहरी खटाएर जग्गा खाली गराइएको प्रजिअ पौडेलले बताए।  घर बनाउन चाहिने सामग्री, दैनिक उपभोग्य वस्तु, खाना पकाउने ग्याससहित बालबच्चा लिएर आएका उनीहरुको घर बनाएर बस्ती बसाउने योजना रहेको प्रहरीको भनाइ छ । पक्राउ परेका राईलाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरिएको छ ।