साहित्य

कष्टकर दैनिकीसँगै पुस्तक लेखन

भीमदत्तनगर । कल्पना गर्नुहोस् शारीरिक रुपमा अशक्त र परिवारमा स्याहार, हेरचाह गर्ने कोही पनि नभइदिँदा हुने पीडा । नत श्रीमती न छोराछोरी केवल सूर्यझै अस्ताउन लागेका वृद्धबुबा आमाको भरमा बाँचेको एक स्रष्टाले कलमको मसीलाई भने पीडाका सयौं चट्टानलाई छिचोल्दै अनवरत् रुपमा अघि बढाउनुभएको छ ।

शब्दमा वर्णन गर्र्नै सकस हुने पीडामय दैनिकी, घर बसाउने सपनामा बादल लागे पनि कञ्चनपुरका नरबहादुर साउद भने पुस्तक लेख्ने र ज्ञानपर्वद्धक कुरा समाजमा पस्किन निरन्तर सक्रिय रहनुभएको छ । उहाँको त्यही सक्रियता र जुझारुपनले मदन पुरस्कार समेत जित्नुभयो ।  कृषि क्षेत्रका पुस्तक लेखनमा सक्रिय साउदले ओछ्यानमै पल्टिएर कम्प्युटरमा अक्षर थिच्दाको दृष्य हेर्दा लाग्छ उहाँले पीडा सहेर पनि समाजका लागि केही गर्ने कठोट नै लिनुभएको छ । भीमदत्तनगरपालिका–२ का ५५ वर्षीयसाउद विसं २०६६ ‘नेपालका बालीनाली र तिनको दिगोखेती’ नामक पुस्तक लेखेर मदन पुरस्कार प्राप्त गरेका थिए ।

त्यसपछि ‘च्याउखेती’ नामक पुस्तक पनि बजारमा ल्याउनुभएका साउदले लेखनसँगै पछिल्लो समय संस्कृत अध्ययनलाई पनि जोड दिनुभएको छ । उहाँले भन्नुभयो, “लेखन निरन्तर भए पनि पुस्तक अहिले बजारमा ल्याउन सकिएको छैन ।” विसं २०४७ मा दुग्ध संस्थानको जागिर हुँदा बुटबलदेखि सुर्खेत आउँदै गर्दा संस्थानको टङ््याङ्कर बाँकेको कुसुममा दुर्घटनाग्रस्त हँुदा साउदको मेरुदण्ड नै भाँचिदा अपाङ्ग हुनुभएको थियो । नेपाल र भारतका विभिन्न अस्पतालमा उपचारबाट उहाँलाई प्यारापिलेजिया भएको चिकित्सकले जनाकारी गराएयता निकै कष्टपूर्ण दिन काट्नु परेको उहाँको भनाइ छ । अहिले पनि ह्वियलचियरको सहारामा घर तथा बस्तीमा हिँड्डुल गर्ने साउदको शरीरको कम्मरमुनीको भागले काम गर्दैन ।

बैतडीको रिम बण्डामा विसं २०१९ मा जन्मिनुभएका साउदले मदन पुरस्कार पाएपछि लेखनमा थप प्रोत्साहन मिलेको बताउनुभयो । “ओछ्यानमा छाती र कुहिनाको भरमा सुतेर मात्रै कम्प्युटर चलाउन सक्छु”, उहाँले भन्नुभयो, “पहिले त सुतेरै दैनिक १५÷१६ घण्टासम्म लेख्ने अहिले स्वास्थ्यका कारण लामो समय लेख्न सक्दैन ।”

साउदले भारतको हिमाञ्चल प्रदेशको कृषि विश्वविद्यालयबाट बिएससी गर्नुभएको छ । “संस्कृति विश्वविद्यालयमा संस्कृतिको कोर्ष रहेकाले त्यहाँ आफुलाई केन्द्रित गरेको छु”, उहाँले भन्नुभयो, “त्यसपछि तरकारीखेतीका पुस्तक पूरा गर्नेछु ।” उहाँलाई बहिनी र ८९ बर्षीय वृद्ध बुबा धनबहादुर तथा ८८ वर्षीया आमा धर्मादेवीले हेरचाह गरिरहनुभएको छ । “दुर्घटनाको केही समयपछि श्रीमतीले पनि साथ छोडिन”, उहाँले भन्नुभयो । उहाँले वुद्ध बुबाआमा र बहिनी आफ्नो हेरचाहमा लागि परेका बताउनुभयो ।

“बहिनी पनि अलि कान कम सुन्छ”, उहाँले भन्नुभयो, “घटनापछि माइतमा रहेकी श्रीमतीलाई बोलाउदा आउनै मान्दैन ।” स्थानीय कन्कट्टी खोलाको किनार घर भएका साउदले बाढीका कारण समस्यामा रहेको दुखेसो पाख्नुभयो । बाढी नियन्त्रणका लागि तटबन्ध बनाइदिन आग्रह गर्दै नगरपालिका पनि धेरै धाएको उल्लेख गर्दै उहाँ बाढीले जग्गा धेरै कटान गरिसकेको बताउनुभयो ।