समाचार

नेपाली वैज्ञानिकले अतिसूक्ष्म प्रकाशकीय चिपको विकसित गरे

ललितपुर । नेपाली वैज्ञानिकले अतिसूक्ष्म प्रकाशकीय चिपको विकसित गरेका छन् । पहिलो पटक विकसित भएको सो चिपले बायोप्सी (शरीरको अङ्ग झिकेर परीक्षण गर्ने काम) नगरी सिटी स्क्यान उपकरणले जस्तै भित्री तन्तुको जानकारी लिन सहयोग पु¥याउँछ । सो चिपलाई नेपालमा गणितीय परीक्षण गरी बेलायतमा सिलिकन वेफरमा रसायनबाट कुँद्ने काम गरिएको हो ।

फुटुङ रिसर्च इन्ष्टिच्यूटमा कार्यरत वैज्ञानिकले सफलतापूर्वक उक्त प्रविधिको विकास गरेका हुन् । इन्ष्टिच्यूट र नेपाल रिसर्च एलायन्सद्वारा यहाँ आज अयोजित कार्यक्रममा सो जानकारी दिइएको हो ।  आवश्यक सम्पूर्ण प्रकाशकीय उपकरणलाई कलमको निबभन्दा पनि सानो आकारमा एकीकृत गर्दै अत्यन्त कम मूल्यका रुपमा विकास गर्न उनीहरु लागि रहेका छन् ।

इन्ष्टिच्यूटका प्रमुख वैज्ञानिक डा असीम ढकालले भने, “यस प्रविधिलाई श्वासप्रश्वास रोग (फोक्सोसम्बन्धी) को निदान, अवस्था र फोक्सोको भित्री भागको छविको निर्माण गर्न प्रयोग गर्ने योजना बनाएका छौँ । ” उनले नेपालमै नेपाली वैज्ञानिकले नानो–प्रविधिको विकास गर्न सक्छन् भने विश्वास दिलाउन यसको आविष्कार गरिएको बताए ।  शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विज्ञान तथा प्रविधिको थप विकास र विस्तार गर्न नयाँ नीति ल्याउन लागेको जानकारी दिए ।

उनले भने “नेपालमा प्रविधिको धेरै सम्भावना भए तापनि हालसम्म तीव्र गतिमा हुनुपर्ने विकास भइसकेको छैन । ” सामाजिक अभियानकर्मी महावीर पुनले सरकारको नीति आफ्नो तरिकाले अघि बढेका कारण वैज्ञानिकले आशातीत उपलब्धि हासिल गर्न नसकेको बताउँदै प्रदेश नं ३ सरकारले विज्ञान प्रविधि सम्मेलनमा खर्च गर्न लागेको रु ५० लाख संसाधनमा खर्च गरेको भए ठूलो उपलब्धि हासिल हुन्थ्यो भने ।  सो अवसरमा जारी प्रेस विज्ञप्तिमा बिरामी प्रयोगशालामा जानुपर्ने हालको स्थिति अन्त्य गराउन वैज्ञानिक लागिपरेको उल्लेख गरिएको छ । सो चिपले कपालको रौँभन्दा लगभग १०० गुना सानो संरचनामा कुँदाएर तन्तुको छविचित्र निकाल्ने काम गर्छ । यसको आकार चार सय न्यानोमिटरको हुने विज्ञप्तिमा जनाइएको छ ।