प्रदेश 1

सांसदलाई पनि ठगे ठेकेदारले

काठमाडौँ । मोलुङ एकबार सडक आयोजना अन्तर्गत पर्ने मोलुङ दोभान र मान्द्रे दोभानको पुलःनिर्माणको काम पुस मसान्तसम्ममा सम्पन्न गर्ने भनेर ठेकेदारले गत चैतमा प्रतिबद्धता जनाए पनि काम भने अघि बढाएनन् । जेठ मसान्तसम्ममा पुलको जीप तयार गर्ने, मङ्सिर मसान्तसम्ममा ट्रष्ट जोड्ने र पुस मसान्तसम्ममा पुलःनिर्माण गरेर माघको पहिलो साताबाट सवारी सञ्चालन हुने अवस्था तयार गर्ने वाइवा केउरीनी जेभी कन्ट्रक्सनका प्रतिनिधि रवीन्द्र लामाले जिल्लास्थित सांसद र सरोकारवालासामु गत चैत २७ गते लिखित प्रतिबद्धता जनाएका थिए ।

भ्याटसहित रु चार करोड तीन लाखमा मोलुङ दोभानको पक्की पुल २०७५ असार मसान्तसम्ममा निर्माण सम्पन्न गर्नेगरी २०७३ असारमा वाइवा केउरीनी जेबी कन्ट्रक्सनले ठेक्का सम्झौता गरी जिम्मा लिएको थियो । वाइवा केउरीनी जेबी कन्ट्रक्सनले नै दुई वर्षअघि सक्नेगरी ठेक्का लिएको मान्द्रे दोभानको पुलको काम पनि अघि बढ्नसकेको छैन ।

जिल्लाका दर्जन भन्दा बढी विकासका आयोजना ठेक्का लागेर पनि निर्माण सम्पन्न गरिसक्नुपर्ने समय सकिँदासम्म काम शुरु नै गरिएको छैन । कतिपय आयोजना आधा काम गरेर अलपत्र अवस्थामा छाडिएको छ ।