बाग्मती

मदिरा तथा जुवातास रोक्न सहमति

हेटौँडा । मकवानपुर जिल्लाको मनहरीमा मदिरा तथा जुवातास रोक्न स्थानीयवासी सहमत भएको आज यहाँ आयोजित कार्यक्रममा बताइएको छ । मनहरी गाउँपालिकाद्वारा आयोजित गाउँस्तरीय अन्तरक्रियामा उक्त सहमति भएको हो ।

स्थानीय जनप्रतिनिधि, प्रशासन तथा बुद्धिजीवीको सहभागिता भएको अन्तरक्रियामा हिंसा र विकृति फैल्याउने मदिराजन्य तथा जुवातास रोक्न प्रतिबद्धता व्यक्त गरिएको हो । गाउँपालिकाले जुवातास तथा मदिराको समस्या निर्मूल पार्न सामुदायिक प्रहरी र स्थानीय जनप्रतिनिधिको समन्वयमा नौ वटा वडामा मदिरा तथा जुवातासविरुद्ध अभियान सञ्चालन गर्ने सहमति भएको हो । मदिरा र जुवातासबाट बालबालिका बिग्रिने, झैझगडा हुने, पारिवारिक कलह उत्पन्न हुनेजस्ता सामाजिक विकृति बढ्ने भएकाले त्यसलाई रोक्न उक्त कार्यक्रम गरिएको गाउँपालिकाका उपाध्यक्ष मनिला विष्टले बताए ।

यसैबीच सामुदायिक वन उपभोक्ता महासङ्घ मकवानपुरद्वारा आयोजित एक दिने विपद् व्यवस्थापन तथा जलवायु परिवर्तन अनुकूलता मूलप्रवाहीकरण गोष्ठी यहाँ सम्पन्न भएको छ । सामुदायिक विकास केन्द्र नेपालको सहयोगमा आयोजित गोष्ठीमा विपद् जोखिम न्यूनीकरण अवधारणा, औचित्य, वर्तमान अवस्थाको विश्लेषण, जलवायु परिवर्तन अनुकूलता र उपभोक्ता समूहको क्रियाकलापको विषयमा छलफल भएको थियो ।

गोष्ठीमा डिभिजन वन कार्यालय मकवानपुरका सहायक वन अधिकृत अच्युतप्रसाद लामिछाने, सामुदायिक वन उपभोक्ता महासङ्घ प्रदेश नं ३ का सदस्य रामहरी चौलागाई, समसामायिक विकास केन्द्र नेपालका नवराज थापा तथा जिल्ला समन्वाय समिति मकवानपुरका उपप्रमुख भगवती पुडासैनीलगायतका वक्ताले विपद् व्यवस्थापनका लागि सरकारी र गैरसरकारी क्षेत्र एक साथ अगाडि बढ्नुपर्नेमा जोड दिए ।