बाग्मती

स्थानीय तहमा पत्रकारिता तालीम

काभ्रेपलाञ्चोक । नेपाल पत्रकार महासङ्घ जिल्ला शाखाले स्थानीय तहमा विकास पत्रकारिता आधारभूत तालीमको शुरुवात गरेको छ । महासङ्घले धुलिखेल नगरपालिकाबाट पत्रकारिता तालीमको शुरुवात गरेको हो ।  स्थानीय तहमा भएका विकासका गतिविधिलाई सञ्चारमाध्यममार्फत आमनागरिकलाई सूचीत गराउन स्थानीय सरकारको समन्वयमा विकास पत्रकारिता आधारभूत तालीम शुरु गरिएको महासङ्घ शाखा अध्यक्ष मोतिराम तिमल्सिनाले बताए ।

उनले भने, “सबै तहमा स्थानीय सरकारसँग समन्वय गरी क्रमैसँग तालीम दिँदै जानेछौँ ।” धुलिखेलमा सञ्चालित तालीममा प्रत्येक वडाबाट दुई/दुईजनाको सहभागिता गराइएको छ । सबै स्थानीय तहका वडाबाट दुई/दुईजनाको सहभागितामा विकास पत्रकारिता आधारभूत तालीम दिइने तिमल्सिनाले जानकारी दिए ।

विकास पत्रकारिता तालीमका सहभागीले वडामा भएका विकास गतिविधिका बारेमा स्थानीय नागरिकलाई पत्रकारिताको माध्यमबाट जानकारी गराउने योजना बनाइएको छ । जिल्लामा छवटा नगरपालिका र सातवटा गाउँपालिका छन् ।