कृषि

मधुवा फलफूल किसान चिन्तित

बर्दिबास । आफ्नो बगैँचाका आँपका रुखमा पात नदेखिने गरी मज्जर (मञ्जरी फूल) खेलेको देख्दा दङ्ग परेका महोत्तरीका फलफूल किसान अहिले मधुवा (आँप, लिची र रुखकटहरसहितका फलमा फूल खेल्दै लाग्ने डढुवा रोग) बढेपछि पिरोलिएका छन् । आँपमा मज्जाले मज्जर खेल्दा राम्रो उत्पादन हुने आश पालेका यहाँका किसान अहिले आँपका फूल मधुवाले डढाएर सुक्न थालेपछि किसानको पिरालो बढेको हो । जिल्लाको बर्दिवास, गौशाला, औरही र भङ्गाहा नगरपालिका क्षेत्रमा सघन फलफूल खेती भइरहेका ठाउँमा मधुवाको समस्या बढेको छ ।

बर्दिवास नगरपालिका–९ पशुपतिनगरका किसान ब्रह्मदेव महतोको बगैँचामा विभिन्न जातका गरी ५० आँपका रुख छन् । यसपालि पहँेलपुर मज्जरले ढाकेका आँपका बोटमा अहिले चिचिला खेल्ने बेलामा मधुवा लागेपछि मञ्जरी डढेर कालो भएको महतोले बिरक्तिदै बताए । “आँपमा मज्जाले मज्जर खेलेको थियो, यसपालिचाहिँ आँप फल्ने भो भन्ने आश थियो”, महतोले भने, “सारा आशमा पानी फेरियो, धेरैजसो मज्जरमा मधुवाले डढाएर सखाप पारियो । अलिअलि लागेका चिचिला पनि आजको हावाहुरीले झारेपछि आँपबाट यसपालि उत्पादन लिने आश म¥योे ।”

महतोमात्र होइन्, जिल्लाका फलफूल खेती गर्ने अधिकांश किसान मधुवाको समस्याले पिरोलिएका छन् । उत्पादन बढ्ने आशमा रहेका उनीहरु मधुवाको समस्याले उत्पादन हात नलाग्ने चिन्तामा छन् । बर्दिवास–९ सँगै जोडिएको भङ्गाहा नगरपालिका–४ रामनगरका फलफूल किसान हरिदेव साह पनि मधुवा नियन्त्रण हुन नसक्दा यसपालि आँप उत्पादन लिने आश मरेको बताए । करीब एक बिघा क्षेत्रफलमा बगैँचा भएका साहले धेरैजसो रुखका मज्जर मधुवाले डढाएको बताए ।

आँपमा अहिले चिचिला खेल्ने समयमै मज्जरमा मधुवा लागेर कालो बनाएको किसानको भनाइ छ । चैत शुरु भएसँगै मधुवाले आँपका मज्जर डढाएर कालो बनाएको पशुपतिनगरकै अर्का किसान सुरजसिंह कुशवाहाले बताए । आफ्नो बारीका ६० रुख आँपमध्ये १५ रुखको मज्जर मधुवाले डढाएको कुशवाहाको भनाइ छ । “मधुवा नियन्त्रणका लागि उपचार गरिए पनि रोग नियन्त्रण हुन सकेन”, कुशवाहाले आँप बगैँचामै पुगेका सञ्चारकर्मीसँग भन्नुभयो, “पहिले त मज्जरमा पानीको फोहराले नै मधुवा लाग्न दिँदैनथ्यो, अब त विषादीलाई पनि मधुवाले टेर्न छाड्यो, खै गर्ने होला ”

जिल्लाका आँप खेती सघन गरिने बर्दिवास नगरपालिकाको वडा नं ४/५ को माईस्थान, वडा नं १०/११ खयरमारा, १२/१३ बिजलपुरा, गौशाला नपाको लक्ष्मीनियाँ, भरतपुर, बेलगाछी र भाण्टाबारीमा पनि मधुवाको समस्या बढेको किसानले बताएका छन् । “पहिले त पानीको फोहराले प्राकृतिक उपचार गरियो”, खयरमाराका किसान रामपुकार यादवले भने, “अहिले त विषादी पनि कतिपटक छरिसकियो, त्यही पनि मधुवा पूरै नियन्त्रण भएन, तर फलफूलविज्ञको सल्लाहमा तीनपटक उपचार गरेपछि मत्थर भने भएको छ, तर मधवाले डढाएको मज्जर भने बौरिएन ।” बर्दिवासको खयरमारा र माईस्थानका किसानको मुख्य खेती नै फलफूल रहँदै आएको छ । फलफूलमा पनि आँप नै मुख्य भएको बर्दिवास–५ माईस्थानका वडाध्यक्षसमेत रहनुभएका किसान दलबहादुर थापामगरले बताए ।

मज्जर लाग्नासाथ मधुवाले गाँजेपछि यसपालि आँपको उत्पादन घट्ने हो कि भन्ने चिन्ताले किसानसँगै उपभोक्ता पनि पिरोलिएका छन् । “आँप प्रचुर फल्दा सस्तो हुने र गरीबले पनि आफ्नो आयस्ताअनुसार खान पाँउछन्”, महोत्तरी बर्दिवास–१ का वडाध्यक्ष चूडामणि पोखरेलले भन्नुभयो, “यसपालि भने मधुवाले उत्पादन घटाउने लक्षण देखाएको छ, उत्पादन कम भएपछि मूल्य आकाशिने भएका कारण गरीब उपभोक्ताले आँप खान पाउने छैनन् ।”

यता स्थानीयतहका कृषि शाखाका फलफूलविज्ञ भने मज्जर खेल्नासाथै उपचार नगरिँदा मधुवाको समस्या बढेको बताउँछन् । अहिले बढेको मधुवाको प्रकोप रोक्न रोग नलागेका रुखमा सघन उपचार बढाउनुपर्ने भङ्गाहा नगरपालिका कृषि शाखाका प्रमुख सुट्टा मण्डल बताए । किसान धेरै पिरोलिए पनि अहिले मधुवाको प्रकोप नै नभई समस्या मात्र भएको मण्डलको भनाइ छ । अहिले पनि निरन्तर गरिने उपचारले मधुवा हट्ने, नयाँ बोटमा नलाग्ने र चिचिला पनि झर्न नदिने हुनसक्ने मण्डलले बताए ।

यसपालि जिल्लाका सबैजसो भेगमा आँपमा राम्रो मज्जर लागेको फलफूलविज्ञ बताउँछन् । यसपालि हिउँदे वर्षा नभएकाले र शुरुमै मज्जर खेल्नासाथ तत्काल गरिनुपर्ने उपचारमा ढिलाइ हुँदा केही ठाउँमा मधुवाको समस्या देखिएको विज्ञको भनाइ छ । आँपको रुखको जरा वरिपरि खनेर सिँचाइ गरिनुसँगै फेदमा चुन दल्ने प्राकृतिक उपचारले नै मधुवा रोक्न सकिने मण्डलले बताए । तर मधुवा लागिसकेपछि भने मज्जर बचाउन विषादी उपचार नै गर्नुपर्ने मण्डलले बताए ।

पानी लगातार फूलमा छर्किएसँगै जरामा पर्याप्त सिँचाइ गरिए मधुवा नलाग्ने र फूलमा दाना राम्रो लाग्ने फलफूलविज्ञको भनाइ छ । यसपालि हिउँदमा पानी नपरेकाले आँप र अन्य फलफूलको फूल झर्ने समस्या देखिने वितिकै र मज्जर खेलेसँगै पानी छर्कने नगरिँदा समस्या बढेको फलफूलविज्ञ बताउँछन् । जिल्लामा सात हजार हेक्टर जग्गामा व्यावसायिक रूपमा नै आँपखेती हुने गरेको स्थानीय तहका कृषि शाखाको अभिलेखले देखाउँछ । पछिल्ला केही वर्षयता गाउँघरमा कृषि कामदार पाउन छाडिएपछि अन्य खेती गर्न छाडेर फलफूल लगाउने क्रम बढ्दै गएको पुराना फलफूल किसान रहनुभएका गौशाला नगरपालिकाका प्रमुख शिवनाथ महतो बताए।