स्वास्थ्य

बैंक स्थापनाका लागि चेक हस्तान्तरण

चितवन । नेपाल नेत्रज्योति संघले ४१ औं स्थापना दिवसको अवसरमा प्रभातफेरी गरेको छ । भरतपुरको चौबिसकोठीबाट बाइपास रोडमा रहेको भरतपुर आँखा अस्पतालसम्म प्रभातफेरी गरिएको हो ।

सो अवसरमा सङ्घका पदाधिकारी एवं सदस्य, आँखा अस्पतालका कर्मचारी, विद्यार्थी एवं स्थानीय व्यक्तिको सहभागिता रहेको थियो । प्रभातफेरी समापन समारोहमा आँखाको नानी सङ्कलन केन्द्रका लागि स्थानीय समाजसेवी भीमराज पाठकले घोषणा गरेको रकममध्ये रु एक करोड ३० लाखको चेक हस्तान्तरण गरेका थिए । आफू र श्रीमतीको नाममा भीमराज उषामाया पाठक आँखा बैंक स्थापनाका लागि अक्षयकोष खडा गर्न पाठकले यसअघि रु २० लाख उपलब्ध गराइसक्नु भएको थियो । पाठक दम्पतीको रु एक करोड ५० लाख अक्षय कोषमा राखेर त्यसको ब्याजबाट आँखा बैंक सञ्चालन गरिने छ ।

सो अवसरमा पाठकले नेपाल नेत्रज्योति सङ्घका जिल्ला सभापति कृष्णराज धरेललाई चेक हस्तान्तरण गरेका थिए । धरेलले आँखा बैंकका लागि सहयोग गर्ने पाठक दम्पतीप्रति आभार प्रकट गर्दै सो रकमलाई उच्चतम सदुपयोग गराउने बताए । हाल अस्पतालले यहाँ सङ्कलन गरेको आँखाको नानी तिलगङ्गा आँखा अस्पतालमा पठाउँदै आएको छ । हालसम्म चार जनाको आठवटा आँखाको नानी तिलगङ्गा पठाइएको र तिलगङ्गाबाट ५५ वटा आँखाको नानी ल्याएर प्रत्यारोपण गरेको धरेलले बताए । आँखा बैंक स्थापनाका लागि करीब रु १० करोड लाग्ने भएकाले दाताको खोजी भइरहेको सो अवसरमा उहाँले जानकारी दिए ।