प्रदेश 2

छुट्टाछुट्टै दुर्घटनामा परी तीन जनाको मृत्यु

सर्लाही । सर्लाहीमा भएको छुट्टाछुट्टै दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ । गोडैता नगरपालिका–६ बगदहस्थित महालक्ष्मी चिनी उद्योगमा उखु लोड गरिएको ट्र्याक्टरको मुनि किचिएको अवस्थामा एक जनाको शव फेला परेको छ । ना १ त ६६६६ नम्बरको ट्र्याक्टरको टेलरमुनि सुतिरहेको अवस्थामा मङ्गलबार राति टाउको किचिएको अवस्थामा बलरा नगरपालिका–५ अर्नाहाका २६ वर्षीय शम्भु महतो शव फेला परेको प्रहरी उपरीक्षक गोपालचन्द्र भट्टराईले जानकारी दिए ।

शवको प्रकृति हेर्दा मृतकको टाउको टेलर बाहिर निस्केकाले अन्य कुनै सवारी साधनले रातिको समयमा किचेको हुनसक्ने प्रहरीको अनुमान छ । महतो ट्र्याक्टर चालक रहेको प्रहरीले जनाएको छ । उनी उखु लिएर चिनी मिलमा गएको थियो । घटनाको छानबिन भइरहेको प्रहरीले जनाएको छ । यसैगरी मोटरसाइकल दुर्घटनामा परी मङ्गलबार साँझ एक वृद्धाको मृत्यु भएको छ । मृत्युहुनेमा हरिपुर नगरपालिका–२ का ६५ वर्षीया मोसतकीमा खातुन रहेको छ । ना ३ प ५५४ नम्बरको मोटरसाइकलमा चढेर हरिपुरबाट मलङ्गवातर्फ आउँदै गरेको अवस्थामा मलङ्गवा–४ सर्लाही क्याम्पस नजिक दुर्घटना हुँदा गम्भीर घाइते भएकी उनको उपचारका क्रममा स्थानीय श्रीराम हस्पिटलमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

त्यस्तै भँैसी चराउन गएकी ईश्वरपुर नगरपालिका–१५ सुक्नाहका राकेश साहको पाँच वर्षीया छोरी काजल साहको भैँसीबाट लडेर मङ्गलबार साँझ मृत्यु भएको छ । भैँसीको डोरी कम्मरमा बाँधी घर आउँदै गरेको अवस्थामा भैँसी भाग्दा डोरीले बाँधिएकी काजल भैँसीबाट लडी लछारपछार भई घाइते बनेकी थिइन् । उनलाई उपचारका लागि ईश्वरपुर बजारतर्फ लैजाँदै गर्दा बालिकाको ज्यान गएको प्रहरीले जनाएको छ ।