समाचार

हैट विडम्बना, भ्रष्टाचारीलाई कारबाही गर्ने निकायका जिम्मेवार व्यक्ती नै अदालत धाउनुपर्ने !

काठमाडौँ । पदको दुरुपयोग गरेर गैरकानूनी क्रियाकलाप गर्ने संवैधानिक आयोगका आयुक्तको पद समेत धरापमा पर्दोरहेछ भन्ने कुराको पुष्टि भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राजनारायण पाठकले नेपाल इञ्जिनीयरिङ कलेजको मुद्दा मिलाइदिने भन्दै रु ७८ लाख घुस लिएको अभियोगमा आज विशेष अदालतमा मुद्दा दायर गरेपछि सो कुराको पुष्टि भएको हो ।

भ्रष्टाचार नियन्त्रण गर्ने निकायको आयुक्त नै घुस प्रकरणमा तानिएको यो पहिलोपटक हो । चाँगुनारायणस्थित नेपाल इञ्जिनीयरिङ कलेजको स्वामित्व विवादका सम्बन्धमा आयोगले अनुसन्धान गरिरहेको उजुरी मिलाइदिने भन्दै पाठकले घुस लिएको श्रव्यदृश्य सामग्री केही समय पहिले सार्वजनिक भएको थियो । उक्त सामग्री सार्वजनिक भएपछि पाठकले आफ्नो पदबाट राजीनामा दिएका थिए ।

आयोगका प्रवक्ता प्रदीकुमार कोइरालाका अनुसार विचाराधीन उजुरीलाई मिलाइदिने भनी तत्कालीन आयुक्त पाठकले सोही कलेजका सञ्चालकसँग घुस लिएको ठहरसहित मंगलबार मुद्दा दायर गरिएको हो । कलेजका सञ्चालक लम्बोदरकुमार न्यौपानेसँग घुस लिएका विषयमा प्राप्त भएको श्रव्यदृश्य सामग्रीसमेत आयोगले अदालतमा पेश गरेको छ ।

भ्रष्टाचार नियन्त्रण गर्ने निकायका आयुक्त नै घुस लिएको भन्ने विषयमा सञ्चारमाध्यममा प्रकाशित समाचारलाई उजुरीका रुपमा दर्ता गरी आयोगले छानविन गरेको थियो । उजुरी छानविन हुँदा तत्कालीन आयुक्त पाठकले आफ्नो पदीय आचरणविपरीतको कार्य गरी आयोगमा विचाराधीन रहेको कलेजको स्वामित्व विवादसम्बन्धी उजुरी मिलाइदिने घुस लिएको देखिएको थियो ।

अनुसन्धानका क्रममा आयोगलाई प्राप्त श्रव्यदृश्य सामग्रीबाटसमेत पुष्टि भएको देखिएको भन्दै आयोगले पाठक र कलेज सञ्चालक न्यौपाने दुवैलाई प्रतिवादी बनाइ मुद्दा दायर गरेको छ । सो प्रकरणसँग जोडिएका पाठकका भाई शुभनारायणले घुस लिएको भनिएको रु १५ लाख नेपाल इञ्जिनीयरिङ कलेजसँग सम्बन्धित नरहेको भन्दै थप अनुसन्धान गर्ने आयोगले निर्णय गरेको छ । उक्त घुस रकम नयाँ कलेज सम्बन्धनका लागि लिएको भन्ने सम्बन्धमा थप अनुसन्धान गर्ने निर्णय गरिएको प्रवक्ता कोइरालाले जानकारी दिए ।

यस्तै आयोगले धनुषाको घाँसेबारी बीउबिजन प्रयोगशालामा, कार्यरत वरिष्ठ पशु विकास अधिकृत डा रामगुलाम यादव र पशु प्राविधिक जागेश्वर चौधरीले रु ४० हजार घुस लिएको अभियोगमा आज पक्राउ गरेको छ । सम्पन्न भइसकेको कार्यको भुक्तानी आदेशबापत उनीहरुले सेवाग्राहीसँग घुस मागेको भन्ने सूचनाका आधारमा आज आयोगले पक्राउ गरेको हो । आरोपी दुवैको थप अनुसन्धान भइरहेको छ ।