अन्तर्राष्ट्रिय

आँधीका कारण पाँच लाखभन्दा बढी बासिन्दा विस्थापित

बेइरा, मोजाम्बिक । आँधीबाट प्रभावित भएका दक्षिण अफ्रिकाका पाँच लाखभन्दा बढी बासिन्दा विस्थापित भएका छन् । सहयोगदाताहरुले उनीहरुलाई औषधी, खाना, पाल लगायतका सहयायता सामग्रीहरु उपलब्ध गराएका छन् ।

आँधीसँगै आएको अत्यधिक बर्षा, हावाहुरी र बाढीले झण्डै सात सय जनाको मृत्यु भएको छ भने अरु थुप्रै भौतिक क्षति भएको छ । आँधीले मोजाम्बिक, जिम्बाबे र मलावी क्षेत्रलाई प्रभावित पारेको छ । आँधीबाट प्रभावित भएको मध्ये झण्डै तीन हजार १२५ बर्ग किलोमिटर क्षेत्रमा अहिले पनि पानी रहेको अधिकारीहरुले बताएका छन् ।

विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) द्वारा जारी वक्तव्यमा भनिएको छ, “हामीलाई प्राप्त पछिल्लो विवरण अनुसार आँधीबाट प्रभावित तीन देशका झण्डै पाँच लाख जना विस्थापित भएका छन् ।” यही मार्चको १५ तारिखका दिन यस क्षेत्रमा भिषण आँधी आएको थियो । आँधीबाट प्रभावितलाई थप सहयोगको आवश्यकता रहेको सहयोगदाताहरुले बताएका छन् ।