खेलकुद

ब्याडमिन्टनमा प्रिन्सको उत्कृष्ट प्रदर्शन

काठमाडौँ । सिल्क ग्रुपका प्रिन्स दाहाल १५औँ कृष्णमोहन स्मृति राष्ट्रब्यापी खुला ब्याडमिन्टन प्रतियोगितामा विजयी भएका छन् । हलचोकस्थित एपिएफको कभर्डहलमा भएको खेलमा दाहाल पुरुष एकल, पुरुष युगल र ब्वाइज यु– १७ मा जित निकाल्दै क्वाटरफाइनल प्रवेश गरेका छन् ।

पुरुष एकलमा प्रिन्सले एपिएफकै पेम्बा शेर्पालाई २२–२० र २१–११ अङ्कले जिते । दुबई अन्तर्राष्ट्रिय जुनियर प्रतियोगितका स्वर्ण पदकधारी प्रिन्सले अन्तिम आठमा स्थान बनाउन सेनाका दिवस शङ्करलाई २१–११ र २१–७ अङ्कले पराजित गरे । ब्वाईज यु–१७ तर्फ प्रिन्सले धन्वन्तरीका सुदन तामाङलाई २१–६ र २१–५ अङ्कले पराजित गरे । एपीएफका खेलाडीको वर्चस्व रहेको प्रतियोगिताको क्वाटरफाइनल प्रवेश गर्ने अन्य खेलाडीमा एपीएफका गौतमसिंह कठायत, सुदीप सेढाईं, सुनिल जोशी र साजनकृष्ण ताम्राकार रहेका छन् ।

महीला यु– १७ तर्फ मोरङकी निता लम्साल, झापाकी अन्जना राई र बिरगञ्जकी स्मृती राईले अन्तिम आठमा स्थान बनाए । मिक्स डबल्सतर्फ एपीएफ र भोजपुरका निरविक्रम देवकोटा र सिता राईको जोडीले इटहरी र झापाका भोवबहादुर गुरुङ र अञ्जना राईको जोडीलाई २१–७ र २१–४ अङ्कले हराए । महिला युगलतर्फ एपीएफका शोभा गौचन र सुनैना मुखियाको जोडीले वीरगञ्ज र झापाका स्मृती राई र अञ्जना राईको जोडीलाई २१– ११ र २१–७ अङ्कले हराए । पुरुष युगलतर्फ एपीएफका दिपेश धामी र बिजित थापा मगरको जोडीले म्याग्दीका मनोज डगौरा र विजय बानियाँको जोडीलाई २१– १२ र २१–१६ अङ्कले पराजित गरे ।