समाचार

देशका अधिकांश स्थानमा मेघ गर्जनसहित वर्षा, बुधबारदेखि मौसम खुला हुने

काठमाडौँ । पश्चिमी वायुसँग स्थानीय वायु मिसिँदा आज काठमाडौँ उपत्यकासहित देशको अधिकांश स्थानमा मेघ गर्जनसहित वर्षा भएको छ । पश्चिमी वायुको प्रभावले पश्चिम क्षेत्रबाट आजदेखि शुरु भएको वर्षा बिहानदेखि देशका मध्य तथा पूर्वी भागसम्म फैलिएको जल तथा मौसम पूर्वनुमान महाशाखाका मौसमविद् मञ्जु बासीले बताए । उनका अनुसार यो क्रम आज रातिसम्म कायम रहनेछ । बुधबारदेखि मौसम खुला हुने बताइएको छ ।

बुधबार पूर्वी पहाडी भेगमा मौसम केही प्रभावित हुने र अन्य भूभागमा सामान्यतया सफा हुने जनाइएको छ । बुधबार देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सफा रहने महाशाखाले जनाएको छ ।

महाशाखाको पछिल्लो विवरणानुसार आज काठमाडौँ उपत्यकामा १४.० मिलिमिटर वर्षा मापन गरिएको छ । त्यस्तै पोखरामा १३.९ मिलिमिटर, नेपालगञ्जमा १७ ।७ मिलिमिटर र विराटनगरमा १६.६ मिलिमिटर वर्षा भएको छ ।