प्रदेश 2

व्यापारिक मार्ग निर्माणमा जीतपुर र निकुञ्ज बाधक

वीरगञ्ज । राष्ट्रिय आयोजनाका रुपमा प्राथमिकता पाएको वीरगञ्ज– पथलैया व्यापारिक मार्गको निर्माणमा जीतपुर बजार र पर्सा राष्ट्रिय निकुञ्जको कारण सो मार्गको निर्माणले गति लिन सकेको छैन । व्यापारिक मार्ग विस्तार आयोजना पथलैयाका अनुसार पथलैया –वीरगञ्ज व्यापारिक मार्गअन्तर्गत जीतपुर सिमरा उपमहानगरपालिका वडा नं १७ को जीतपुर बजार र पर्सा राष्ट्रिय निकुञ्जअन्तर्गत पर्ने एक हजार १०० मिटरभित्रको जङ्गल क्षेत्र समयमा खाली गराउन नसक्दा निर्माणले गति लिन सकेको छैन ।

हाल सो सडक निर्माणको ठेक्का पाएका ठेकेदार कम्पनीमध्ये केही ठेकेदार कम्पनीले सन्तोषजनक काम गरे पनि अन्य ठेकेदार कम्पनीले निर्माणमा ढिलाइ गरेकाले हालसम्म सो मार्गमा ४५ प्रतिशत काम मात्र सम्पन्न भएको योजना प्रमुख सञ्जयकुमार मिश्रले राससलाई बताए ।

सो योजनाअन्तर्गत पथलैया –वीरगञ्ज ६ लेनको व्यापारिक मार्ग दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्य लिइए पनि ठेकेदार कम्पनीको ढिलासुस्तीका कारण समयमा काम सम्पन्न हुन नसकेको हो । बाटो विस्तारका लागि सडक विभागले २०६३ साल असार २९ गते ३० महिनाको अवधि तोके पनि समयमा काम हुन नसक्दा ठेकेदार कम्पनीलाई पुनः ६ महिनाको म्याद थपिएर सडक निर्माण गर्न ६ ठेकेदार कम्पनीलाई छुट्टाछुट्टै जिम्मेवारी दिए पनि ठेकेदार कम्पनीको लापरवाहीले समयमा काम सम्पन्न हुन नसक्दा सडक निर्माणले गति लिन नसकेको हो ।

रु पाँच अर्ब ५० करोडको लागतमा निर्माण भइरहेको २७ किमीको व्यापारिक मार्गमा ६ ब्लक निर्माण गरी ६ कम्पनीमार्फत बाँकी काम अगाडि बढाइएको छ । त्रिभुवन राजपथ र परवानीपुरदेखि सिर्सियाको सुख्खा बन्दरगाहसम्म निर्माण हुने सो ६ लेनको मार्ग समयमा निर्माण हुन नसक्दा मालवाहक सवारी साधन तथा यात्रुलाई आवागमनमा समस्या भएको छ ।

सडक निर्माणको ठेक्का पाएका निर्माण कम्पनीले विद्युत्, वन, पाइपलाइन निर्माण र जीतपुर बजारको कारण बाधा उत्पन्न भएकाले काम गर्न नसकिएको जिकिर गर्दै आएका छन् । मुलुकको कुल आयातको ६० प्रतिशतभन्दा बढी मालवस्तु आयात हुने वीरगञ्ज नाकाको प्रमुख सडकका रुपमा रहेको वीरगञ्ज– पथलैया मार्ग विस्तार नहुँदा सडक जाम हुने तथा सवारी साधन आवतजावतमा समस्या हुने गरेको देखिन्छ ।