खेलकुद

नेपाल र अफगानिस्तान प्रतिष्ठाका लागि भिड्ने

काठमाडौँ । एएफसी तेइस वर्षमुनि (यु–२३) च्याम्पियनसीप छनोट फुटबल प्रतियोगिताअन्तर्गत नेपाल र अफगानिस्तानबीच आज हुने समूह चरणको अन्तिम खेलमा दुवै टोलीले प्रतिष्ठाको लागि खेल्दैछन् । कतारको दोहास्थित स्पोर्ट्स सिटी सेन्टरमा हुने खेल नेपाली समय अनुसार राति ९ः४५ बजे दुवै टोली विजयी लक्ष्यका साथ मैदानमा उत्रनेछन् । खेल दुवै टोलीको लागि प्रतिष्ठाको लागि मात्र हुनेछ ।

यसअघि दुई÷दुई खेल खेलेका नेपाल र अफगानिस्तान दुवै खेलमा पराजय भोग्दै छनोट चरणबाट बाहिरिसकेका छन् । पराजयसँगै नेपालका लागि भने एएफसी यू–२३ च्याम्पियनसीप खेल्ने सपना आगामी दुई वर्षका लागि पछाडि धकेलिएको छ । यसअघि शुक्रबार भएको पहिलो खेलमा नेपाल ओमनसँग १–० गोलअन्तरले पराजित भएको थियो भने आइतबार भएको समूह चरणको दोस्रो खेलमा नेपाल कतारसँग ५–० गोलअन्तरले पराजित भयो ।

यता अफगानिस्तान कतारसँग २–० को हार बेहो¥यो भने दोस्रो खेल ओमनसँग २–१ गोलले पराजित भयो । यू–२३ च्याम्पियनसिपमा नेपाल र अफगानिस्तान दुवैले अहिलेसम्म छनोट चरण पार गर्न सकेका छैनन् । सन् २०२० को जनवरी ८ देखि २६ सम्म थाइल्याण्डमा हुने एएफसी यू–२३ च्याम्पियनसिपका लागि छनोट चरणमा विभिन्न ११ समूह छन् । नेपाल समूह ‘ए’ मा छ । नेपालको समूहमा कतार ओमन र अफगानिस्तान छन् ।

समूह ‘ए’ बाट कतार र ओमानबीच आज नै हुने खेलबाट अन्तिम चरणको टुङ्गो लाग्नेछ । जसमा विजेता टोलीले एएफसी यु–२३ च्याम्पियनसपमा सहभागिता जनाउनेछ । त्यस खेलमा पराजित हुने टोलीका लागि पनि उत्कृष्ट उपविजेता भएर अगाडि बढ्ने अवसर हुनेछ । दुई खेल खेलेको कतारको ६ अङ्क छ भने समान खेल खेलेको ओमनको पनि समान ६ अङ्क नै छ । प्रत्येक समूहको विजेता टोली, उपविजेतामध्ये उत्कृष्ट चार टोली र आयोजक थाइल्याण्ड गरी १६ टोलीले फाइनल चरणमा स्थान बनाउने छन् ।