कर्णाली प्रदेश

पर्यटकीयस्थल काँक्रेविहार पुनःनिर्माण करिव ७० प्रतिशत सकियो

सुर्खेत । कर्णालीको पर्यटकीयस्थल काँक्रेविहार पुनःनिर्माण करिव ७० प्रतिशत सकिएको छ । मूर्तिकारको अभाव र रेखाङ्कनका भरमा काम गर्नुपर्ने बाध्यताका कारण तोकिएको समयावधिभन्दा पुनःनिर्माण एक वर्ष पर धकेलिएको हो । जेठ मसान्तमा सकिएको म्याद पुरातत्व विभागले पुनः एक वर्ष थप गरेको थियो । काँक्रेविहार क्षेत्रको पर्खाल, उत्तर–दक्षिण तथा मुख्यद्वार निर्माण सकिएको छ । उत्खनन स्थलमा विभागले २०६१ सालमै शिखर शैलीको मन्दिर बनाउन काम शुरु गरे पनि ०७२ सालदेखि भने पुनःनिर्माणले गति लिन थालेको हो । मन्दिरको उचाइ २१ मिटरमध्ये हालसम्म १२ मिटर पुनःनिर्माण भइसकेको छ ।

काठमाडौँस्थित सिद्धबाबा कन्स्ट्रक्सन प्रालिले पुनःनिर्माण ढिलाइ हुनामा कालीगढको अभाव भएको जिकिर गरेको छ । यहाँ भक्तपुरका कालीगढले ढुङ्गा कुँद्ने काम गर्दै आएका छन् । वीरेन्द्रनगरस्थित प्रदेश सङ्ग्रहालयले पुनःनिर्माण परियोजना सुपरीवेक्षण गर्दै आएको छ । मूर्तिकार तीर्थराम कासी छवाले मन्दिरको स्वरुप यकिन नभएका कारण विभागले तयार पारेको रेखाङ्कनकै आधारमा काम गर्नुपरेको बताए । ढुङ्गामा मूर्तिको आकार दिएर पुनःनिर्माण गर्नुपर्ने बाध्यता रहेको अर्का मूर्तिकार राजन सुवालले बताए । उनले भने, “रेखाङ्कन र नक्साबिनाको विहारको काम गर्नु आफैँमा चुनौतीपूर्ण छ । एक–एक बुट्टाहरु हेरेर ढुङ्गामा मूर्ति कुँद्दा काममा ढिलाइ भएको हो ।” रु आठ करोड १८ लाख ३५ हजार ८७०को लागतमा विहार पुनःनिर्माण भइरहेको छ ।

पुनःनिर्र्माणमा ढिलाइ हुँदा कलात्मक ढुङ्गा–मूर्ति यत्रतत्र छरिएका छन् । कालीगढले ठूल्ठूला कलात्मक ढुङ्गा उपकरणकोे सहायताले जोड्ने गर्दछन् । भक्तपुरका चार मूर्तिकारसहित २१ डकर्मीे पुरानो स्वरुप मिलाउनदेखि टुटे–फुटेका ढुङ्गा–मूर्ति जोड्ने कार्यमा संलग्न छन् । स्थानीयवासीले भने पुनःनिर्माण तोकिएकै समयमा सम्पन्न गर्न विभाग र निर्माण कम्पनीको ध्यानाकर्षण गराएका छन् ।

काँक्रेविहारलाई हिन्दू र बौद्ध दुवै धर्मावलम्बीले उत्तिकै श्रद्धा गर्छन् । बुद्धमूर्ति प्रतिस्थापन गर्ने विषयमै चार वर्ष अघि यहाँ हिन्दू तथा बौद्ध धर्मावलम्बीबीच विवाद भएको थियो । विवादका कारण प्रतिस्थापन हुन नसक्दा उक्त मूर्ति अझै जिल्ला प्रहरी कार्यालयको हातामा राखिएको छ । मन्दिर निर्माणपछि आन्तरिक तथा बाह्य पयर्टकको सङ्ख्या वृद्धि हुने अपेक्षा गरिएको छ । अग्लो डाँडामा निर्माण हुन लागेको शिखर शैलीको मन्दिरबाट सुर्खेत उपत्यकाका विभिन्न स्थान अवलोकन गर्न सकिन्छ ।