अन्तर्राष्ट्रिय

युक्रेनमा दादुराबाट १४ को मृत्यु ३२ हजार भन्दा बढी प्रभावित

किभ । युक्रेनमा गएको तीन महिना यता जारी रहेको दादुराको प्रकोपको कारण कम्तीमा १४ जनाको मृत्यु भएको छ । यस रोगबाट ३२ हजार भन्दा बढी व्यक्ति प्रभावित भएका छन् । युक्रेनको स्वास्थ्य मन्त्रालयले सोमबार सो जानकारी दिएको छ ।

सन् २०१८ को डिसेम्बर २८ बाट सन् २०१९ को मार्च १२ सम्म १८ हजार १०९ जना बालबालिकासहित ३२ हजार ९३९ व्यक्ति दादुराबाट प्रभावित सो मन्त्रालयद्वारा प्रकाशित विज्ञप्तिमा जनाइएको छ । गत वर्ष युक्रेनभरी ३५ हजार १२० व्यक्ति दादुरा रोगबाट प्रभावित भएका थिए ।

यद्यपी सन् २०१७ मा ४ हजार ७८२ व्यक्ति मात्र यो रोगबाट प्रभावित भएका थिए । विश्वमा नै दादुराबाट प्रभावित व्यक्तिको सङ्ख्या भीषण रुपमा बढेको युनिसेभले जानकारी दिएको छ ।

सन् २०१७ बाट हालसम्म युक्रेनमा दादुराबाट करिब ३५ व्यक्तिको मृत्यु भएको बताइएको छ । यस रोगबाट बचाउ गर्ने उपाय कम मात्र अपनाइएको हुनाले रोग फैलिदै गएको स्वास्थ्य अधिकारीहरुको दाबी रहेको छ ।