गण्डकी प्रदेश

गाउँलाई तीन रोपनी ९ आना जग्गा दान

दमौली । तनहुँको भिमाद नगरपालिका–९ निवासी दिलबहादुर थापाले सोही वडाको पाथर्दी गाउँलाई तीन रोपनी ९ आना जग्गा दान गरेका छन् । खेल मैदान सहित पार्क निर्माणका लागि थापाले करीब रु १० लाख बराबरको जग्गा खरीद गरी पाथर्दी गाउँलाई दान गरेका हुन् ।

काठमाडौँमा अपार्टमेन्टको व्यवसाय गरेका उनले आफ्नो गाउँको विकासका लागि खेलमैदान बनाउन जग्गा सहयोग गरेको बताए । उनले भने, “पाथर्दी गाउँमा पर्यटक आकर्षित गर्ने उद्देश्यसहित खेलमैदान र पार्क निर्माण गर्ने लक्ष्य राखिएको रहेछ । सोही लक्ष्यलाई पूरा गर्न मैले जग्गा सहयोग गरेको हूँ ।”

पाथर्दी गाउँमा पर्यटक भित्र्याउने उद्देश्यसहित घर बास समेत सञ्चालन भइसकेको छ । गाउँपालिकाको ९ नं वडा गण्डकी प्रदेश सरकारले छनोट गरेको मुख्यमन्त्री नमूना कृषिगाउँको रूपमा समेत छनोट भएको छ । पाथर्दी सामुदायिक घरबास व्यवस्थापन समितिका अध्यक्ष शिवकुमार आलेले आफ्नो गाउँको विकासका लागि थापाले गरेको सहयोग उदाहरणीय रहेको बताए ।

उनका अनुसार उक्त जग्गामा टेबलटेनिस, भलिबल, फुटसललगायतका खेल खेल्न मिल्ने संरचना बनाउने लक्ष्य राखिएको छ । साथै गाउँमा आउने पर्यटकलाई भुलाइराख्न व्यवस्थित पार्क निर्माणको योजनासमेत बनाइएको छ । उनले भने, “यस गाउँमा आउने पर्यटकलाई लक्षित गरी पार्कसहितको खेलमैदानको योजना अगाडि सारेका छौँ ।”

वडाध्यक्ष इमान थापाले खेलमैदानसहितको पार्क निर्माणका लागि प्रदेश र सङ्घीय सरकारसँग अनुरोध गरिने बताए । उनले भने, “स्थानीयवासीको लगानीमा यति ठूलो योजना सम्पन्न गर्न सम्भव छैन, त्यसैले प्रदेश र सङ्घीय सरकारसँग बजेट माग गर्ने तयारीमा छौँ ।”