लुम्बिनी

जन्म दिने बुबाआमाले छाडेर गएपछि बेसहारा

रोल्पा । सुनिल स्मृति गाउँपालिका–२ खुङ्ग्री रोल्पाका सात वर्षीय उज्ज्वल पुन जन्म दिने बुबाआमाले छाडेर गएपछि बेसहारा भएका छन् । नाबालक अवस्थामै जन्म दिने बुबाआमाले छाडेर गएपछि उनी एक्लै दिन काटिरहेका छन् ।

दुई वर्ष पहिले घर छाडेका बुबा श्यामबहादुर पुन अहिलेसम्म घर फर्केका छैनन् । काठमाडौँ इँटाभट्टामा काम गर्ने उनले उतै अर्को विवाह गरेको थाहा पाएपछि उज्ज्वलकी आमा पनि गत साउनदेखि घर छाडेर गइन् । घर छाडेकी आमाले समेत अर्को विवाह गरिन् । घरबाट बाहिरिएका बुबाआमा दुवैले दोस्रो विवाह गरेपछि उज्ज्वल बेसहारा बनेका हुन् ।

चौध वर्षीय दाजु उत्तम पुनले ट्याक्टरको सहचालक भएर काम गर्दै आएका छन् । घरमा बस्ने बास र खाने अन्न नभएपछि दाजु उत्तम पनि ट्याक्टर साहुकै घरमा बस्न थाले । चार जनाको परिवार चारतिर गएपछि उज्ज्वल घरमा एक्लै भए । भत्किएको घरमा धेरै रात एक्लै काटेका उज्ज्वल त्यसपछि भने गाउँभर भौतारिँदै हिँड्न थाले । घरमा खानेकुरा नभएपछि माग्दै पेट पाल्न बाध्य भए । बाँच्नका लागि माग्दै खानुको विकल्प नभए पनि मगन्ते भन्दै कतिपय छिमेकीले हेला गर्न थाले ।

बुबाआमाको लापरवाहीले कष्टपूर्ण जीवन जिउँदै आएका नाबालक उज्ज्वलको बालअधिकारको रक्षार्थ गाँस, बाससहित पढ्न पाउने अधिकारको सुनिश्चितता गर्न जरुरी रहेको अधिकारकर्मी तीर्था आचार्यको भनाइ छ । उनले उज्ज्वलको भविष्यका लागि सबैको सहयोगको अपिल समेत गरेका छन् ।