गण्डकी प्रदेश

बोटे समुदायका घरले पूर्णता पाउन सकेनन्

तनहुँ । आर्थिक अवस्था कमजोर भएका लाभग्राहीले जनसहभागिता जुटाउन नसक्दा सीमान्तकृत समुदाय बोटेका घरले पूर्णता पाउन सकेको छैन । व्यासनगरपालिका–५ लुतेवराहका बोटेले घर निर्माण गर्न नसक्दा उनीहरु चैतको हावाहुरीले छाप्राको छानो उडाइदिन्छ कि भनेर चिन्तित भएका छन् ।

शहरी विकास तथा भवन कार्यालयले तोकिएको मापदण्डअनुसार दुईकोठे र शौचालयसहितको एक घर निर्माणका लागि रु तीन लाख ३२ हजार ५०० उपलब्ध गराए उनीहरुले जनसहभागिता जुटाउन नसक्दा घरले पूर्णता पाउन नसकेपछि बोटे समुदाय चिन्तित भएका हुन् ।

सवइञ्जिनीयर शङ्करराज गैरेले लाभग्राहीले जनसहभागिता जुटाउन नसक्दा घरले पूर्णता पाउन नसकेको बताए । सरकारको प्राथमिकतामा रहेको जनता आवास कार्यक्रम कार्यान्वयन कार्यविधिअनुसार जनसहभागिता जुटाउनुपर्ने हुन्छ ।

यहाँ निर्माण भएका सबै घरमा नेपाल विद्युत् प्राधिकरण तनहुँ वितरण केन्द्रको सहयोगमा बत्तीसमेत जडान भइसकेको छ । तर निर्माण सम्पन्न गरेर नयाँ घरमा सर्ने अवस्था छैन । नयाँ घरमा झ्यालढोका लगाइएको छैन । त्यसैले उनीहरु टहरोमै बस्न बाध्य छन् । पानी पर्दा र हावाहुरी आउँदा उडाउँछ कि भन्ने चिन्तामा रहने यहाँका बोटेलाई नयाँ निर्माण गरिएको घरले पनि मुक्ति दिन नसकेको हो ।

व्यास नगरपालिकाको वडा नं ५ क्षेत्रमा जनता आवास कार्यक्रममार्फत ३५ घर निर्माण भइरहेका छन् । सोही वडाको रानीटारी, चिन्तुटार, चुँदेर र नेपालटारमा समेत घर निर्माण भइरहेको छ । निर्माण भइरहेका घरमध्ये २१ घर दलित र १४ घर बोटे समुदायका छन् । जनता आवासको गत आर्थिक वर्षको कार्यक्रमअन्तर्गत तनहुँमा २१३ घर निर्माणकार्य भइरहेका छन् । अन्तिम किस्ताको रकम निकासामा ढिलाइ हुँदा घर निर्माणकार्य पनि ढिलाइ भइरहेको बताइएको छ ।