बाग्मती

क्यान्सरसँग लड्दै राष्ट्र सेवामा

रत्ननगर । अर्वुदरोग (क्यान्सर) शब्द सुन्नेबित्तिकै जोकोही डराउँछन् । निको नहुने रोगका रुपमा बुझ्ने धेरै भेटिन्छन् । तर, भरतपुर–७ कृष्णपुरका विष्णुप्रसाद पौडेल क्यान्सरसँग जुधेर सहज जिन्दगीमा रमाइररेका छन् । उनी क्यान्सर सचेतनामा समेत सक्रिय छन् । सरकारी सेवामा रोगकै कारण उनी लामो बिदा बस्नु परेन । पौडेल अहिले डिभिजन वन कार्यालय चितवनका प्रमुख हुन् । यसअघि उनी नवलपरासी, मकवानपुर, चितवनमा वन अधिकृतका रूपमा काम गरेका थिए ।

नवलपरासीबाट छुट्टीका दिन चितवन आइरहन्थे। उनमा पहिले क्यान्सरको लक्षण थिएन । “शुक्रबारको बिदामा घर आउँदा एकपटक निकै ज्वरो आयो”, विगत सम्झँदै उनी भन्छन्, “निजी क्लिनकमा गएँ, सामान्य औषधि लिएर फर्के, तर पछिसम्म निको भएन ।” उनले धपेडीले बिरामी भएको अनुमान लगाए । पछि पुनः परीक्षण गर्दा ‘रगतमा खराबी छ’ भनेर चिकित्सले भनेपछि चिन्ता बढेको अनुभव सुनाउँछन् । “ठूलै रोग लागेजस्तो पीडा भयो”, उनले भने, “नजिकै क्यान्सर अस्पताल थियो, त्यही गएँ ।” विपी मेमोरियल क्यान्सर अस्पतालमा रगत परीक्षण भयो । “ल्याबको रिपोर्टले क्यान्सर भएको देखियो”, उनले भने, “बोनम्यारोनै ट्रान्सप्लाण्ट गनुपर्छ भनेर डा दामोदर गजुरेलले सम्झाए ।”

मेडिकल अन्कोलोजीका डा गजुरेलले बेलैमा उपचार गर्न पटक–पटक सर्तक बनाए । “यहाँ ट्रान्सप्लाण्ट सेवा थिएन, भारत नै जानुपर्ने भयो”, पौडेलले भने, “रोगबारे घरमा समेत भनिनँ, हिम्मत हारिनँ ।” रोग पहिचान भएका बेला उनी ३४ वर्षको थिए । विवाह गरेको चार वर्ष पुगेको थियो, छोरी थिइन् । घरव्यवहार पनि आफैँले हेर्नुपर्दथ्यो । अरुलाई लुकाए पनि दाइलाई रोगबारे सबै खुलाए । “क्यान्सर लाग्यो भन्ने बित्तिकै डराउने समाज थियो, रोग लुकाउन बाध्य भएँ”, उनले सुनाए, “तर, उपचार रोकिन, दुःख गरेरै भए पनि भारत पुगेर उपचार गराएँ ।” भारत जाने बेलामा बल्ल घरपरिवारले थाहा पाए । मुम्बइको टाटा अस्पतालमा पुनः परीक्षण भयो । बोनम्यारो ट्रान्सप्लाण्ट परिवारका सदस्यबीच ‘म्याच’ नभएपछि घर फर्किन बाध्य हुनुप¥यो । बोनम्यारो नपाए पनि उहाँले अनलाइनमार्फत औषधिको खोजीमा लागे।

छ महीनाको खोजीपछि उनले म्याक्स फाउण्डेशनसँग सम्पर्क गरे । फाउण्डेशनसँग औषधिका लागि फारम भरे । फाउण्डेशन मार्फत त्यसको ६ महीनापछि निःशुल्क उहाँको नाममा ग्लिभेक भन्ने औषधि आइपुग्यो । उनी भन्छन्, “नेपालमा पहिलोपटक क्यान्सरको औषधि ग्लिभेक खाने म नै हो । नेपालमा किनेर औषधि खान सक्ने अवस्था थिएन ।” त्यसरी संस्थाले ६ महीनासम्म उनको नाममा औषधि पठायो । त्यसपछि सन् २००४ देखि पाटन अस्पतालमै म्याक्सले औषधि पठाउन थाल्यो । अहिले उनले पाटनबाट औषधि लिने गर्छन् । पौडेलले पाँच वर्ष ग्लिभेक, दुई वर्ष निलोटिनिब, डासाटेनिब हु्ँदै बोसाटेनिब सेवन गरिरहेका छन् ।

उनले भन्ने गर्छन्, जति खाली बस्नुहुन्छ । खाली दिमाग सैतानको बास । काम गर्नुस् । नवलपरासी, चितवन, हेटौँडा हुँदै चितवनको डिभिजन वन कार्यालयका डिएफओ पौडेल अहिले ५४ वर्ष पुगे । उनका अहिले एक छोरी, र श्रीमती छन् । उनले जागिर खाएको पनि २४ वर्ष पुगेको छ । उनलाई हेर्दा कसैले रोगी देख्दैनन् । उनी सधैँजसो फिल्डमै जान मन पराउँछन् । निजामती सेवामा ५८ वर्षसम्म सेवा गर्ने प्रवाधन छ, अझै चार वर्ष देशको सेवामा सर्मपित हुन्छु ।

उनकै अगुवाइमा सन् २००४ देखि फाउण्डेशनले भरतपुरस्थित क्यान्सर अस्पतालमा रक्त र आन्द्रा क्यान्सरका बिरामीले तीन प्रकारका औषधि वितरण गर्छ । फाउण्डेशनले ग्लिभेक, निलोटिनिब र डासाटिनिब नामक औषधि उपलब्ध गराउँदै आइरहेको छ । यो औषधि अमेरिकाबाट नेपालका दुई अस्पताल पाटन अस्पताल काठमाडौँ र भरतपुरस्थित विपी कोइराला क्यान्सर अस्पतालमा आउने गरेको छ । अस्पतालका अनुसार हाल ६३० ले सेवा लिइरहेका छन् । पौडेलले हप्ताको एक दिन बिदा पनि क्यान्सर अस्पताल भरतपुरमा गएर आफूजस्तै बिरामीलाई उत्प्रेरणा दिने काम गर्छन् । “औषधिले बीचबीचमा काम गर्न छाड्छ”, पौडेल भन्छन्, “काम गरेन भनेर आत्तिनु पर्दैन । खाइरहको औषधिले काम गरेन भने दोस्रो औषधि आएको छ ।”

क्यान्सरका अन्य बिरामीलाई उनले सधैँ भन्ने गर्छन्, “रोग लाग्यो भनेर निरुतासाहित हुनुपर्दैन । चिकित्स र अस्पतालको सम्पर्कमा बस्नुस्, औषधि नियमित खानुस् । २० वर्ष होइन ४० वर्ष बाँचिन्छ ।”