समाचार

मानव अधिकारलाई प्राथमिकतामा राखेर काम गर्न आग्रह

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले पाँच आयोगका नवनियुक्त अध्यक्षहरुसँग मानव अधिकारका विषयमा छलफल गरेको छ । आयोगका अध्यक्ष अनुपराज शर्माले मानव अधिकारको संरक्षण र संवद्र्धनमा आयोगले अन्य सबै आयोगसँग सहकार्य गरेर अगाडि बढ्ने बताए ।

मधेशी, मुस्लिम, थारू, समावेशीलगायत नेपालका सम्पूर्ण नागरिकको मानव अधिकार संरक्षण गर्ने सबै आयोग उद्देश्य भएको उल्लेख गर्दै उनले समन्वय र सहकार्य आवश्यक भएको उल्लेख गरे । उनले कार्य सम्पादनका क्रममा आगामी दिनमा सबै आयोगबीच आउन सक्ने कामको दोहोरोपना तथा अस्पष्टतालाई हटाउन, मानव अधिकारको संरक्षणमा थप योगदान आयोगले गर्नुपर्ने सहयोग गर्ने जानकारी गराए ।

छलफलमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका अध्यक्ष बालानन्द पौडेल, राष्ट्रिय समावेशी आयोगका अध्यक्ष डा शान्तराज सुवेदी, मधेशी आयोगका अध्यक्ष डा विजयकुमार दत्त, थारू आयोगका अध्यक्ष विष्णुप्रसाद चौधरी, मुस्लिम आयोगका अध्यक्ष समीम मियाँ अन्सारी थिए ।