बाग्मती

संस्कृतिलाई कसैले पनि समाप्त गर्न सक्दैन: नेता नेपाल

चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले देशको संस्कृतिलाई कसैले तेजेवत गरेर समाप्त गर्न नसक्ने बताएका छन् । बराह क्षेत्र चताराधामका प्रमुख संरक्षक सिद्धमहायोगी डा कृष्णदासलाई सोमबार यहाँ नागरिक अभिनन्दन गर्दै उनले धर्म संस्कृति मान्छे र देशको पहिचान भएको बताए । वरिष्ठ नेता नेपालले नेपालीसँग रहेको अन्तरनिहित शक्तिलाई प्रयोगमा ल्याउन नसकेको तर्क गरे ।

आफूमा भएको अन्तरनिहित शक्तिले यहाँको धर्म संस्कृति, परम्परा, संस्कारलाई त्यागेर विदेशीको पछि लागेर नेपाली हुँ भन्नेलाई धिक्कार्नुपर्ने उनले बताए । धर्म संस्कृति ज्ञानको अखण्ड भण्डार रहेको पनि उनले बताए । धर्मसँग जोडेर आफूमाथि टिका टिप्पणी भएकोतर्फ लक्षित गर्दै उनले भने, “हाम्रो परिवार सम्पन्नशालि परिवार हो, मेरो बुबा पण्डित भएकाले माछा, मासु त चल्दैन फेरी रक्सी टाढाको कुरा हो ।” उनले भने, “यस्ता व्यक्तिको बारेमा कुरा सुन्दा खेरी अचम्म लाग्यो, यो कस्तो देश भएछ । कसैले हल्ला चलायो त्यसैको पछिपछि कुद्ने ।”

अभिनन्दित भएपछि डा कृष्णदासले हिन्दू धर्मको आवाज उठाउँदा हिन्दू धर्म के हो सिक्नुपर्ने बताउनुभयो । उनले भने, “ब्रम्ह केहो, जीव केहो, हिन्दुत्व केहो जान्न जरुरी छ ।” आफूभित्र हिन्दुत्व जगाउनुपर्ने भन्दै उनले यसले सोच र वुद्धिमा फरक ल्याउने बताए । कार्यक्रममा प्रमुख अतिथि नेपालसहित अतिथिले डा कृष्णदासलाई २१ किलोको माला र फूलले अभिनन्दन गरेका थिए । अभिनन्दन समारोह अघि डा दासलाई रथयात्रा गरी नगर परिक्रमा गराइएको थियो ।