खेलकुद

आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताका लागि निर्माण गरिएका संरचना

राँझा । नेपालगञ्जमा आयोजना हुने आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताका लागि निर्माण गरिएका संरचनाको युवा तथा खेलकूदमन्त्री जगतबहादुर बिश्वकर्माले सोमबार अवलोकन तथा निरीक्षण गरेका छन् ।

राष्ट्रिय खेलकूद परिषद्ले यही चैत २७ गतेदेखि प्रतियोगिता शुरु गर्ने तयारी गरेको छ । मन्त्री विश्वकर्मा पूर्वाधारण निरीक्षणका लागि आय यहाँ आएका हुन् । राखेपका उपाध्यक्ष पिताम्बर तिमिल्सिना, सदस्य सचिव केशवकुमार विष्टसहित मन्त्री विश्वकर्माले सोमबार बाँके र बर्दियामा निर्माण गरिएका संरचनाबारे जानकारी लिएका हुन् ।

मन्त्री विश्वकर्मा भौतिक पूर्वाधार निर्माणको अवस्थाबारे विश्वस्त भएपछि मात्रै राष्ट्रिय खेलकूदको औपचारिक रुपमा मिति तय हुने खेलकूद विकास समिति प्रदेश नं ५ का अध्यक्ष भीम वलीले बताए । मन्त्री विश्वकर्माले नेपालगञ्ज रङ्गशाला परिसरमा स्थापना गरिएको आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताको प्रतीक (मस्कट) हात्तीको छावाको अनावरण गरे ।

आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताको उद्घाटनस्थल नेपालगञ्ज रङ्गशालामा जडान हुने विशिष्ट अतिथि प्यारापिटको सामान सोमबार यहाँ आइपुगेको छ । सो सामान चीनबाट आयात गरिएको हो । मङ्गलबारदेखि प्यारापिट जडान शुरु हुने अध्यक्ष वलीले जानकारी दिए ।