स्वास्थ्य

इच्छाशक्ति भए ग्रामीण क्षेत्रमा बसेर गुणस्तरीय स्वास्थ्य सेवा गर्न सकिन्छ

काठमाडौँ । शल्यक्रिया नगरी जन्माइएको नवजात शिशुको बाँच्ने सम्भावना अत्यन्त न्यून थियो । एक दशमलव छ किलोग्राम तौल भएको उक्त शिशुको मुटुको धड्कन प्राय बन्द हुने अवस्थामा पुगेको थियो भने श्वासप्रश्वास पनि लिन सकिराखेको थिएन । झन्डै पाँच मिनेटपछि सुत्केरीले दोस्रो सन्तानको जन्म दिइन् । ती नवजात शिशुको अवस्था पनि पहिलोको सन्तान जस्तै दोहोरियो ।

दुबै नवजात शिशु छोरी थिए । हामीले तत्काल दुबै शिशुलाई नवजात शिशु उपचार कक्षमा लग्यौँ । आफूले सिकेका ज्ञान, सीप र प्रविधिलाई सामूहिकरुपमा प्रयोग ग¥यौँ र दुवैको सफल उपचार ग¥यौँ । स्याङ्जा जिल्ला अस्पतालमा कार्यरत चिकित्सक अमृत पोखरेल आज यहाँ आयोजित दशौँ स्वास्थ्यकर्मी सम्मेलनमा आफ्नो अनुभव सुनाउँदै थिए । उनले भने, “जिल्ला अस्पतालमा नवजात शिशु उपचार कक्ष थिएन भने ती जुम्ल्याहा शिशुलाई बचाउन मुस्किल पर्दथ्यो । ती शिशुको आठ मिनेटपछि मुटुको धड्कन आयो । शिशुले नवजीवन प्राप्त गरेँ ।”

नेपाल सरकारको ३० लाख र निक साइमन्स इन्स्टिच्यूटको पाँच लाख आर्थिक एवं प्राविधिक सहयोगमा सो कक्ष डा पोखरेलको विशेष पहलमा निर्माण भएको थियो । सो कक्ष यतिखेर गण्डकी प्रदेशका लागि उत्कृष्ट केन्द्र बनेको छ । उसो त अस्पतालले गर्भवती आमाको सकेसम्म शल्यक्रिया नगरी सुत्केरी गराउने नीति लिएको छ । सुत्केरीका कारण नवजात शिशु र आमाको मृत्युसमेत अस्पतालमा भएको छैन । चिकित्सक पोखरेल भने, “ग्रामीण क्षेत्रमा बसेर सेवा गर्छु भन्ने इच्छा शक्ति, जाँगर चाहिन्छ, धेरै परिवर्तन गर्न सकिन्छ ।”

सर्लाही हजारिया स्वास्थ्य चौकीमा पाँचौँ तहमा कार्यरत अनमी तिर्सना पन्थी घिमिरेले छोटो अवधिमा स्वास्थ्य सेवामा गरेको सेवाले सो क्षेत्रका जनता असाध्यै खुशी बनेका छन् । उनले भने, “पहिलो दिन जाँदा बस्ने कुर्सी थिएन । रक्तचाप परीक्षण गर्ने उपकरण, थर्ममिटर पनि थिएन । सिटामोल र भिटामिन ए मात्र थिए ।” तर अहिले जनशक्ति, उपकरण तथा औषधिको कुनै अभाव छैन उनले सुनाए । राष्ट्रिय स्वास्थ्य तालीम केन्द्र र निक साइमन्स इन्स्टिच्युटद्वारा हरेक वर्ष आयोजना हुने सो सम्मेलनमा सातै प्रदेशबाट १२५ जना स्वास्थ्यकर्मीको सहभागिता रहेको छ । सम्मेलनको पहिलोदिन आज सङ्खुवासभा मकालु स्वास्थ्य चौकीका स्वास्थ्य सहायक छिङ दोर्जी लामा, बझाङ जिल्ला अस्पतालमा कार्यरत अनमी सरिता सिंहले आ–आफ्ना अनुभव प्रस्तुत गरेका थिए ।

ग्रामीण क्षेत्रका प्रभाव भइराखेका स्वास्थ्य सेवाका अवस्था, चुनौती र समाधानका उपायबारे छलफल र तालीम प्रदान गर्ने उद्देश्यले आयोजना भएको सम्मेलनमा निक साइमन्स पुरस्कार २०१८ समेत प्रदान गरिनेछ । इन्स्टिच्युटका प्रशासन संयोजक नवराज श्रेष्ठका अनुसार सम्मेलनको पहिलो दिन ग्रामीण क्षेत्रका कार्यरत चिकित्सक, नर्स, स्वयंसेविकाले आफ्ना उत्कृष्ट स्वास्थ्य सफलतालाई प्रस्तुत गरेका थिए । जिम र मेरिलिन्स साइमन्सले आफ्ना दिवङ्गत छोरा निक साइमन्सको सम्झनामा स्थापना गरेको सो इन्स्टिच्युटले सन् २००८ देखि ग्रामीण स्वास्थ्यकर्मी सम्मेलन आयोजना गर्दै आएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमार्फत् सो संस्थाले हाल वर्षेनी रु ३५ देखि ४० करोड नेपालको स्वास्थ्य सेवा सुधारका लागि खर्च गर्दै आएको छ ।

‘अस्पताल सहयोग विकास कार्यक्रम’मार्फत् ग्रामीण क्षेत्रका स्वास्थ्य संस्थामा आवश्यक उपकरण, स्वास्थ्यकर्मी, भौतिक पूर्वाधार, तालीमलगायत गुणस्तरीय स्वास्थ्य सेवा सुधारका लागि सहयोग गर्दै आएको उनले जानकारी दिए । सो संस्थाले विभिन्न १८ जिल्लामा कार्यक्रम गर्दै आएको र आगामी दिनमा २५ जिल्लामा योजना सञ्चालन गर्ने जनाएको छ । ग्रामीण क्षेत्रमा रही स्वास्थ्य सेवा प्रवाह गर्दा आइपर्ने चुनौतीलाई समाधान गर्न सम्मेलन महत्वपूर्ण मानिँदै आएको छ ।