समाचार

छाउपडी प्रथा अन्त्यका लागि विशेष अभियान सञ्चालन

मार्तडी । छाउपडी प्रथा अन्त्यका लागि बडीमालिका नगरपालिकाले विशेष अभियान सञ्चालन गरेको छ । अभियानअन्तर्गत नगरपालिकाले पहिलो चरणमा वडा नं। ९ लाई ‘छाउपडी गोठमुक्त’ घोषणा गर्ने कार्यक्रम अगाडि सारेको छ । त्यसका लागि वडाका प्रत्येक टोलमा आज स्थलगत अनुगमन गरिएको वडाध्यक्ष विनोदकुमार विकले जानकारी दिए । सो वडास्थित चौराटा हुँदै रतुडासम्म स्थलगत अनुगमन गर्दा कुनै पनि टोलमा छाउपडी गोठ नभेटिएकाले वडालाई छाउपडी गोठमुक्त घोषणा गर्ने उनले बताए ।

अनुगमनका क्रममा कुनै पनि टोलमा छाउ गोठ नभेटिएकाले उक्त वडालाई छाउपडी गोठमुक्त घोषणा गर्न हुने गरी प्रतिवेदन पेश हुन लागेको अनुगमन टोलीका सदस्य सहास नेपालका कार्यक्रम अधिकृत रामबहादुर खत्रीले जानकारी दिए । समाजमा व्याप्त कुरीति, कुसंस्कार र अन्धविश्वास मानिँदै आएको छाउप्रथालाई हटाउन नगरपालिकाले विशेष अभियान सञ्चालन गर्न लागिएको नगरपालिकाका उपप्रमुख कविता विष्टले जानकारी दिए।

अभियानअन्तर्गत प्रत्येक वडामा रहेका धाँमी, झाँक्री, पुरोहित र पुजारीलाई छाउप्रथाका कारण उत्पन्न समस्या र चुनौतीको न्यूनीकरणका लागि प्रशिक्षण तथा तालीम दिइएको उनले बताए । छाउ भएका बेलामा गोठमा सुताउने, दही, दूध खान नदिने कार्य गलत भएको उपप्रमुख विष्टको भनाइ छ । उनले छाउ गोठमा एक्लै सुत्दा सर्पको टोकाइबाट मृत्यु र बलात्कारको सिकार हुन सक्ने भएकाले नगरपालिकाले गोठको अन्त्य गर्दै छाउ भएका बेला घरभित्र सुताउनुपर्ने बताए । समाजमा रहेका धाँमी, झाँक्री र पुरोहितले छाउपडी प्रथालाई कायम राख्न सहयोगीको भूमिका निर्वाह गर्ने हुँदा यो प्रथाको अन्त्यका लागि उनीहरुलाई सचेतनामूलक विशेष तालीमको व्यवस्था गरिएको बडीमालिका नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तीर्थराज भट्टराईले बताएका छन् ।

उनले छाउ हुनु प्राकृतिक नियम भएकाले छाउ भएका महिलालाई गोठमा बसाउने कार्य गलत भएको बताउँदै कुसंस्कार, रुढीवादी र अन्धविश्वास कारण समाजमा यो प्रथा कायमै रहेको धारणा व्यक्त गरे । धाँमी, झाँक्री, पुजारी र पुरोहितले प्रभावकारी भूमिका निर्वाह गर्न सके छाउपडी प्रथा उन्मूलन हुने प्रमुख प्रशासकीय अधिकृत भट्टराईको भनाइ छ । छाउ भएका महिलालाई दूध, दही मोही र पोषिला खानेकुराबाट वञ्चित हुनुपरेको महिला अधिकारकर्मी सीता विकले बताए । सुदूपश्चिम प्रदेशमा छाउपडी प्रथा कायमै छ । छाउपडी गोठमा बस्दा कतिपय महिलाले अकालमा ज्यान गुमाउनुपरेको छ । समाजमा कु–प्रथाका रुपमा कायम रहेको छाउपडी प्रथा अन्त्य गर्नका लागि बडीमालिका नगरपालिकाले विभिन्न कार्यक्रम गर्दै आएको छ ।