अन्तर्राष्ट्रिय

कर्मचारीलाई अन्तर–कोरियाली सम्पर्क कार्यालयमा पुनः फिर्ता

सियोल, दक्षिण कोरिया । उत्तर कोरियाले आफ्ना कर्मचारीलाई अन्तर–कोरियाली सम्पर्क कार्यालयमा पुनः फिर्ता पठाएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भियतनामको हनोईमा भएको वार्ता विनानिष्कर्ष टुङ्गिएपछि उत्तर कोरिया र अमेरिकाबीच अन्यौल बढिरहेका समय गत हप्ता प्योङयाङले एक तर्फीरूपमा आफ्ना कर्मचारीलाई उक्त कार्यालयबाट फिर्ता बोलाएको थियो ।

तर कर्मचारी फिर्ता बोलाएको केही दिनमै उत्तर कोरियाले आफ्ना केही कर्मचारीलाई सम्पर्क कार्यालयमा फिर्ता पठाउनुले उत्तर कोरिया अझै पनि छलफल र वार्ताका लागि तयार रहेको पुष्टि गर्ने प्रयास प्योङयाङको रहेको देखिएको छ । “केही उत्तर कोरियाली कर्मचारी दक्षिण–उत्तर संयुक्त सम्पर्क कार्यालयमा सोमबारदेखि फर्केका छन्,” पछिल्लो गतिविधिबारे जानकारी गराउँदै दक्षिण कोरियाली एकीकरण मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

दुई कोरियाबीचको सम्बन्धमा केही सुधार आएपछि यसलाई दीर्घरूप दिन र कोरियाली प्रायद्वीपलाई निशस्त्रीकरण गर्न कोरियाली सीमा क्षेत्रस्थित उत्तरी शहर केसङमा गत बर्षको सेप्टेम्बरमा स्थापना गरिएको थियो । उत्तर कोरियाले कर्मचारी फिर्ता बोलाउनुको कारणबारे कुनै औपचारिक धारणा सार्वजनिक नगर्दै उसले कर्मचारीलाई पुनः फिर्ता पठाउने निर्णय गरेको हो ।