गण्डकी प्रदेश

समृद्धिको योजनामा सबै नेपाली समावेश हुनुपर्छ: मुख्यमन्त्री गुरुङ

दमौली । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले समृद्धिको योजनामा सबै नेपाली समावेश हुनुपर्ने बताएका छन् ।

गण्डकी प्रदेशको भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले आज तनहुँको भिमाद नगरपालिका–९ पाथर्दीमा आयोजना गरेको मुख्यमन्त्री नमूना कृषि गाउँ कार्यक्रमको शुभारम्भ गर्दै उनले प्रदेश सरकारले ल्याएको योजनामा स्थानीयको सहभागिता भए मात्रै समृद्धिको योजना सफल हुने बताए । मुख्यमन्त्री गुरुङले समृद्धिको योजनामा गाउँ–गाउँका जनतालाई समावेश गराएर अगाडि बढ्ने प्रदेश सरकारको योजना रहेको बताए ।

उनले भने, “प्रदेश सरकारले जतिसुकै राम्रो योजना ल्याएपनि स्थानीयको सहभागिता भएन भने त्यसको प्रभावकारिता हुँदैन ।” मुख्यमन्त्री गुरुङले आर्थिक समृद्धिको लहरको शुरुआत भइसकेकाले समृद्धिको योजना बनाएर प्रदेश सरकार लागि परेको बताए । उनले प्रत्येक गाउँमा गण्डकी प्रदेश सरकारको अनुभूति जनताले गर्न पाउने भन्दै गाउँबाटै विकासको अभियान शुरु गरिने बताए ।

मुख्यमन्त्री गुरुङले दुई वर्षभित्र सबैको घरमा बिजुली र खानेपानीको सुविधा पु¥याइने दाबी गरे । उनले अहिलेको कृषि प्रणालीले समृद्धि सम्भव नभएकोले कृषिमा आधुनिकीकरण आवश्यक रहेकामा जोड दिए । प्रदेशका सभामुख नेत्रनाथ अधिकारीले नेपाल कृषि प्रधान देश भएकाले कृषिको व्यावसायिक विकास गर्न आवश्यक रहेको बताए । आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले आर्थिक समृद्धिको शुरुआत गाउँबाटै गर्नुपर्ने बताए । उनले प्रत्येक स्थानीय तहमा नमूना कृषि गाउँ बनाउने सरकारको लक्ष्य बमोजिम पहिलो चरणमा ३६ निर्वाचन क्षेत्रमा सो कार्यक्रम लागू गरिएको बताए ।

आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले क्षमता, अनुभव र विशेषज्ञता केन्द्रित गरेर गाउँको विकास गर्नुपर्ने बताए । उनले विकासको मूल फुटाउन प्रदेश सरकार लागिपरेकाले अभियानमा सबै जनता एकढिक्का भएर लाग्नुपर्ने बताए । भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापाले नमूना कृषि गाउँलाई नेपालकै नमूना कार्यक्रमको रुपमा सञ्चालन गर्नुपर्ने बताए । मन्त्रालयले प्रदेशका ३६ निर्वाचन क्षेत्रका एक/एक गाउँलाई नमूना कृषि गाउँको रुपमा घोषणा गरेको छ ।

मन्त्रालयका सचिव शरदचन्द्र श्रेष्ठका अनुसार कास्कीका ६, पर्वतका २, बागलुङका ४, स्याङ्जाका ४, तनहुँका ४, म्याग्दीका २, मुस्ताङका २, मनाङका २, गोर्खाका ४, लमजुङका २ र नवलपुरका ४ गाउँ छनोट गरिएको छ ।