लुम्बिनी

 रङ्गशाला बनाउने योजना बनाउनुहोस्, म सहयोग गर्छु: मन्त्री विश्वकर्मा

लमही । युवा तथा खेलकूदमन्त्री जगत विश्वकर्माले तुलसीपुरको अरनिको मैदानलाई ‘मिनी रङ्गशाला’को रुपमा विकास गर्न पहल थाल्ने बताएका छन् । तुलसीपुर उपमहानगरपालिकाले आइतबार आयोजना गरेको भेटघाटमा उनले भने, “अरनिको मैदानलाई मिनी रङ्गशाला बनाउने योजना बनाउनुस्, म सहयोग गर्छु ।”

उनले तुलसीपुर उपमहानगरपालिका खेलकूद विकास गर्नका लागि पूर्वाधार निर्माणको काम अघि बढाउन मन्त्रालयले सहयोग गर्ने बताए । खेलको विकासका लागि खेलकूद संरचना अपरिहार्य रहेको भन्दै उनले त्यसका लागि मन्त्रालयले पहल थाल्ने बताए ।

तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले तुलसीपुर उपमहानगरपालिका भित्र एउटा सुविधा सम्पन्न खेलमैदान नहुँदा समस्या भएको बताए । उपमहानगरका खेल संयोजक अमर नेपालीले खेल मैदानको नाममा अरनिको मैदान मात्रै रहेको भन्दै थप पूर्वाधार निर्माणमा मन्त्रालयले पहल थाल्नुपर्ने बताए ।