प्रदेश 1

जनताको मुहारमा खुशी ल्याउन मन्त्रालय अन्तर्गत निर्देशन: मुख्यमन्त्री राई

विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले भौतिक निर्माण कार्यको अनुगमनका लागि प्रदेश अनुगमन समिति तयार गरिने बताएका छन् । भौतिक पूर्वाधार विकास मन्त्रालयद्वारा आइतबार आयोजित आर्थिक वर्ष २०७५/७६ को दोस्रो चौमासिक प्रगति समीक्षा बैठकमा उनले प्रदेशमा निर्माण हुने र भएका कार्यहरुको अधिकार सम्पन्न समितिले सुक्ष्मढङ्गले अनुगमन गरिने बताए ।

भौतिक पूर्वाधार विकास मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका राईले सडक, सिँचाइ, कृषिमा प्रतिफल आउने गरी काम सम्पन्न गरी जनताको मुहारमा खुशी ल्याउन सम्बन्धित मन्त्रालय अन्तर्गतका कार्यालयलाई निर्देशन दिए । प्रदेश सरकार गठन भएको विगत एक वर्षमा संरचना, कानून आदि निर्माणमा समय लागेको बताउँदै उनले सरकारको विकास निर्माण कार्यमा बजेट विनियोन गर्न कर्मचारी समायोजनले समस्या उत्पन्न भएको धारणा व्यक्त गरे । उनले प्रदेशको विकास र समृद्ध कायम कर्मचारीको महत्वपूर्ण भूमिका हुने चर्चा गर्दै जिम्मेवारी लिई समयमा तोकिएको विकास निर्माणका कार्य सम्पन्न गर्ने कर्मचारीलाई आगामी दिनमा मूल्याङ्क गरी पुरस्कृत समेत गरिने बताए ।

प्रदेश प्रमुख सचिव केदार न्यौपानेले जनताको आकांक्षा जोडिएका मन्त्रालयको नतिजा देखाउन गरी काम गर्नु निर्देशन दिए । समीक्षा बैठकमा भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव सागरकुमार राईले ४२ वटा कार्यालय रहेको मन्त्रालयमा दक्ष कर्मचारीको व्यवस्थापन नहुँदा अपेक्षित प्रगति गर्न नसकेको बताए ।

महाशाखा प्रमुख अशोककुमार साहले मन्त्रालयअन्तर्गत कार्यालयले तोकिएको समयमा लक्ष्यअनुसार कार्य पूरा गर्ने विश्वास व्यक्त गरे । बैठकमा सिँचाइ विकास डिभिजन कार्यालय झापा, इलाम, पाँचथर ताप्लेजुङ, मोरङ, धनकुटा, भोजपुर, संखुवासभा सुनसरी, तेह्रथुम, उदयपुर, खोटाङ, ओखलढुङ्गा, सोलुखुम्बु, कन्काइ सिँचाइ व्यवस्थापन कार्यालय झापा, चन्दा मोहना सिँचाइ मोरङ, भूमिगत सिँचाइ मोरङ, खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, सुनसरी, धनकुटा, ओखलढुङ्गा र पाँचथरले आ–आफ्नो कार्यालय प्रगति विवरण प्रस्तुत गरेका थिए ।

दुई दिनसम्म सञ्चालन हुने उक्त समीक्षा बैठकमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय, आर्थिक मामिला तथा योजना मन्त्रालय, प्रदेश योजना आयोग तथा विभिन्न प्रदेश कार्यालयका प्रमुख तथा इञ्जिनीयरको सहभागिता रहेको छ ।