समाचार

विभिन्न सडकमा जेब्राक्रसिङ, डिभाइडरलगायत चिह्न लगाइने

काठमाडौँ । सडक विभागले काठमाडौँ उपत्यकाका विभिन्न सडकमा चिह्न लगाउने भएको छ । जेब्राक्रसिङ, डिभाइडरलगायत सडक चिह्न आवश्यक भएका स्थानमा सडक चिह्न लगाउन लागिएको विभागले जनाएको छ ।

काठमाडौँका चक्रपथ लगायत मुख्य सडकहरुलाई लक्षित गरेर सडक चिह्न लगाउन लागिएको विभागका महानिर्देशक रवीन्द्रनाथ श्रेष्ठले बताए । विभागले सडक रङ्गाउनका लागि रु दुई करोडको ठेक्का सम्झौता गरिसकेको छ । नयाँ विस्तार भएका सडकसँगै पुराना सडकमा चिह्न मेटिएका ठाउँमा नयाँ चिह्न लगाउन लागिएको हो । उनले भने, “ठेक्का प्रक्रिया अघि बढेकाले केही समयमा नै काम शुरु हुनेछ ।”

सडक चिह्न हुँदा सडक सुरक्षा कायम हुने महानिर्देशक श्रेष्ठले बताए । “कोटेश्वर–कलङ्की सडकमा चिह्न पर्याप्त नहुँदा सडक सुरक्षित नभएको विषय उठिरहेको थियो”, उनले भने, “सडक सुरक्षाकै लागि कतिपय ठाउँमा सडक चिह्न त कतिपय ठाउँमा आकाशे पुल निर्माण भइरहेको छ ।” विभागले काठमाडौँका मुख्य सडकमा आकाशे पुल र सडक पुल निर्माण शुरु गरेको छ ।