समाचार

काङ्ग्रेस नेता सिटौलाको स्वास्थ्यमा सुधार (विज्ञप्ती सहित)

काठमाडौँ । नेपाली काङ्ग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाको स्वास्थ्य अवस्था सुधारोन्मुख हुदैँ गएको छ ।

उनी उपचाररत हेम्स अस्पतालले आज स्वास्थ्य अवस्थाबारे जानकारी दिन जारी गरेको विज्ञप्तिमा नेता सिटौलाको उपचारमा सुधार हुँदै आएको जनाइएको छ । अस्पतालका मेडिकल डाइरेक्टर डा भाष्करराज पन्त र आइसियु इञ्चार्ज डा सबिन कोइरालाद्वारा जारी विज्ञप्तिमा उनको अवस्थामा क्रमिक सुधार भइरहेको उल्लेख छ ।

उनलाई अहिले पनि सघन उपचार कक्ष (आइसियु) मै राखेर उपचार गराइएको विज्ञप्तिमा जनाइएको छ । शुुक्रबार साँझ अचानक स्वास्थ्यमा गडबडी भएपछि नेता सिटौला अस्पताल भर्ना भएका थिए । उनको रगतमा हेमोग्लोबिनको मात्रा कम देखिएको र रक्तचापसमेत घटेकाले समस्या उत्पन्न भएको चिकित्सकहरुले जानकारी दिएका छन् । उनलाई रगतको मात्रा बढाउनका लागि शुक्रबार र शनिबार रगतसमेत दिइएको थियो ।

नेता सिटौलालाई धेरै रगत आवश्यक पर्ने भएपछि उनका शुभेच्छुकहरुले आज अस्पताल परिसरमा रक्तदान कार्यक्रमसमेत आयोजना गरेका छन् । ‘दुःख बाँडौँ, सुख साटौँ’ भन्दै यो अभियानमा स्वतःस्फूर्त काङ्ग्रेस तथा पार्टीका भ्रातृ सङ्गठनका कार्यकर्ताहरुले रक्तदान गरिरहेको नेपाल विद्यार्थी सङ्घका नेता युवराज पाण्डेले जानकारी दिए ।

रक्तदान गर्न नेविसङ्घ, नेपाल महिला सङ्घ, नेपाल तरुण दल, नेपाल किसान सङ्घ, नेपाल दलित सङ्घलगायत प्रतिनिधि, सञ्चारकर्मी सहित अस्पताल पुगेको उनले बताए । नेविसङ्घका अर्का नेता सुशील भट्टका अनुसार दिउँसो १२ बजेसम्म १०७ जनाले रक्तदान गरेका छन् । रक्तदानका लागि आउने शुभेच्छुक बढ्दै गएकाले अझै केही समय कार्यक्रम जारी रहने उनले जानकारी दिए ।