समाचार

भ्रष्टाचार र आपराधिक घटना नियन्त्रण गर्न सरकार सक्रिय: प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारको एक वर्षका अवधिमा संविधान बमोजिम १२६ नयाँ कानून निर्माण हुनु संसदीय इतिहासकै पहिलो घटना भएको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यसबीचमा १२६ कानून निर्माण, १३ ऐन संशोधन र केही ‘केही नेपाल ऐन संशोधन’ हुनु संसदीय इतिहासमै पहिलो भएको जिकिर गरे ।

उनले यसबीचमा केन्द्र, प्रदेश र स्थानीय तहबीच सुसम्बन्ध र सहसञ्चालनलाई सहज ढङ्गले अगाडि बढाइएको र संविधानको कार्यान्वयनका निम्ति बाटो बनाई अभ्यास, नजिर र दृष्टान्त स्थापित गर्ने काम भएको बताए । प्रधानमन्त्रीले भने, “लोकतान्त्रिक आचरण, भ्रष्टाचार र आपराधिक घटना नियन्त्रण गरी कानूनको राज कायम गर्न सरकारले काम गरिरहेको छ । संविधानप्रदत्त जनताका मौलिक हक कसरी कार्यान्वयन गर्ने र नीतिहरुको निर्माण र थिति बसाल्न हामीले यसबीचमा समय व्यतीत गरेका छौँ । समावेशिता र समानताको कार्यान्वयनका क्षेत्रमा पनि हामीले छोटो समयमा उपलब्धि हासिल गरेका छौँ ।”