बाग्मती

नेपाल ऐनलाई संशोधन गर्ने विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०७५ पेश

काठमाडौँ । प्रतिनिधिसभामा ‘मुुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०७५ पेश भएको छ ।

प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा कानून, न्याय तथा मानवअधिकार समितिका सभापति कृष्णभक्त पोखरेलले सो प्रतिवेदन पेश गरेका हुन् । बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले ‘पारमाणविक विधेयक,२०७५’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भनी प्रस्ताव प्रस्तुत गरे ।

प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले राष्ट्रियसभाबाट प्राप्त सन्देशसहित ‘जीवनाशक विषादी व्यवस्थापन विधेयक–२०७५’, ‘भूउपयोग विधेयक–२०७५’, ‘नागरिक लगानी कोष (दोस्रो संशोधन) विधेयक–२०७५’ र ‘विज्ञापन (नियमन गर्ने) विधेयक–२०७५’ टेबुल गरे । सचिव योगीले राष्ट्रियसभाबाट प्राप्त सन्देशको जानकारीसहित ‘लेखा परीक्षण विधेयक–२०७५’, ‘विशेष आर्थिक क्षेत्र (पहिलो संशोधन) विधेयक–२०७५’, ‘विदेशी लगानी तथा प्रविधि हस्तान्तरण विधेयक–२०७५’, ‘सार्वजनिक–निजी साझेदारी तथा लगानी विधेयक, २०७५’ र ‘प्रदेश लोकसेवा आयोग ९आधार र मापदण्ड निर्धारण० विधेयक–२०७५ सहितको सन्देश बैठकमा जानकारी गराए ।

बैठक १० मिनेटका लागि स्थगन गरिएको छ । प्रतिनिधिसभाको तेस्रो बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।