समाचार

‘मलाई बचाइदिनुहोस्’– मिर्गौलापीडित छविलाल

खोटाङ । दुवै मिर्गौलाले काम गर्न छाडेपछि दिप्रुङ चुइचुम्मा गाउँपालिका–७ टेम्मास्थित काहुलेका छविलाल मगरले उपचारका लागि आर्थिक सहयोग जुटाउन सबैसँग याचना गरेका छन् । गत माघ ३ गतेदेखि काठमाडौँको सुमेरु अस्पतालमा उपचार गराइरहेका ४२ वर्षीय उनले उपचारमा थुप्रै रकम लाग्ने भएकाले सो याचना गरेका हुन् ।

जीवन–मरणको दोसाँधमा रहनुभएका छविलालले कसैको सहयोग पाए आफ्नो अझै बाँच्ने आशा साकार हुने बताए । “मृत्यु त एक दिन अवश्य सबैको हुन्छ नै” उनले भने, “आफू मरेर गएपछि नाबालक छोरा र श्रीमतीको बिचल्ली हुनेभयो, सक्नुहुन्छ भने मलाई बचाइदिनुहोस् । मेरा परिवार पनि सुखी हुनेछन् ।” हप्तामा दुई पटक डाइलासिस गराइरहेका छविलालले आफ्नो जिम्मेवारी पूरा गर्न नपाउँदै मरिने हो कि भन्ने चिन्ता व्यक्त गरे । “जन्म दिइयो, हुर्काउन र कर्म सिकाउन बाँकी नै छ”, मगरले भने, “ यति छिटै यस्तो होला भन्ने लागेको थिएन । उनीहरुको भविष्यका लागि भए पनि मलाई बचाइदिनुहोस् ।”

कमजोर आर्थिक अवस्था भएका मगर अहिले छोरी निर्मला मगर र ज्वाइँ विमल मगरको सहयोगमा काठमाडौँको कपनमा बसेर उपचार गराइरहेका। पाँच सन्तानका बुबा छविलालको सम्पत्तिका नाममा साँढे दुई रोपनी पाखो जग्गा मात्र रहेको उनका छिमेकीले बताए। घरको आर्थिक अवस्थाले नपुगेपछि ऋण काढेर उपचारका लागि काठमाडौँ पुग्नुभएका मगरको दुवै मिर्गौला फेर्नुपर्ने स्वास्थ्यकर्मी भनाइ रहेको उनीहरूले जानकारी दिए । छविलालको उपचारका लागि सहयोग रकम जुटाउन रेवती मगर र नानीमैया मगरले आर्थिक सङ्कलन अभियान शुरु गरेका छन् । उनीहरुले काठमाडौँ स्थित एभरेष्ट बैंकमा नानीमैया मगर र छविलालका जेठा छोरा प्रेम मगरको नाममा ००२००५०१२१५४७६ नंको संयुक्त खाता खोलेका छन् ।

भतिजी पर्ने सहयोगी नानीमैयाले भने, “काकाको उपचारमा ठूलो खर्च भइसकेको छ । घरको आर्थिक स्थिति नाजुक भएकाले धान्न कठिन छ । उनलाई बचाउन सबैसँग अनुरोध गरिरहेका छौँ”, उनले थपे, “अब कति रकम लाग्छ भन्ने पनि यकिन छैन । स्वास्थ्यकर्मीले दुवै मिर्गौला प्रत्यारोपण गर्नुपर्छ भनेको छ तर उनीहरुसँग उपचारका लागि गाडी भाडासमेत छैन ।” आर्थिक सहयोग जुटाउन सहयोग रसिद छपाएर गाउँगाउँमा पठाउने तयारीसमेत गरिएको जनाइएको छ । विदेशमा रहेका आफन्तका लागि फेसबुकमा समेत र अभियान थालिएको बताइएको छ ।