बाग्मती

चालु आर्थिक वर्षमा प्राकृतिक कारणले  ३९ गैँडा मरे

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा चालु आर्थिक वर्षमा प्राकृतिक कारणले  ३९ गैँडा मरेका छन् ।

प्राकृतिक कारणले एकै वर्षमा यति धेरै गैंँडा मरेको हालसम्मकै यो पहिलो हो । सशस्त्र द्वन्द्वको समयमा एकै वर्षमा ३७ वटा गैँडा शिकारीले मारेका थिए । विसं २०५८ मा एकैवर्ष ३७ वटा गैँडा चोरी शिकारीले मारेका थिए । त्यसपछिका वर्षमा चोरी शिकार क्रमशः घट्दै गएर नियन्त्रणमा आएको थियो । यसवर्ष प्राकृतिक कारणले हालसम्मकै धेरै गैँडा मरेपछि संरक्षणका क्षेत्रमा चासो र चिन्ता बढेको छ । वर्षेनी ठूलो सङ्ख्यामा प्राकृतिक कारणबाट गैँडाको मर्ने क्रम बढेसँगै संरक्षणका लागि सरकार र दातृ निकायको ध्यान जानु आवश्यक छ ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत ढकालका अनुसार हालसम्मकै धेरै गैँडा प्राकृतिक कारणले मरेपछि यसको कारणको खोजी भइरहेको छ । निकुञ्जभित्र प्राकृतिक कारणले मरेकामा भाले–भाले जुँधेर, ढिस्कोबाट लडेर, गोहीले हानेर, बाघले खाएर, बच्चा पाउन नसकेर, दलदलमा फसेर, बिरामी भएर र बुढो भएर कालगतिबाट मर्ने गरेका छन् । गैँडाको औसत आयु ६० वर्ष हुन्छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत ढकालले सङ्ख्या बढ्दै गएपछि प्राकृतिक कारणले मर्नेको सङ्ख्या पनि बढ्दै गएको बताए । अघिल्लो वर्षको बाढीले गैँडाको समूहलाई तितरवितर बनाएपछि प्राकृतिक कारणले बढी गैँडा मरेको ढकाल बताउँछन् ।

निकुञ्जको तथ्याङ्कअनुसार सन् २०१४ मा आठ, २०१५ मा १५, २०१६ मा १४ र सन् २०१७ मा २४ वटा गैँडा प्राकृतिक कारणले मरेका थिए । यसअघि चोरी शिकारीबाट सबैभन्दा बढी सन् २००२ मा ३६, सन् २००३ मा ३०, सन् २००५ मा १६ र सन् २००० मा १५ वटा गैँडा मारिएका थिए । २०७३ साल चैत २५ गतेपछि चोरी–शिकारीबाट भने गैँडा मर्न पाएका छैनन् । पछिल्लो गणनाअनुसार निकुञ्जमा ६०५ गैँडा छन् । यसै आर्थिक वर्षमा पुनः गैँडाको गणना गर्ने भनिए पनि दाताको टुङ्गो नलाग्दा गणनाको मिति तय भएको छैन ।