लुम्बिनी

८४ बालबालिकालाई फिर्ता गरी परिवारमा पुनःस्थापना

रोल्पा । बालश्रममा प्रयोग गरिएका रोल्पाका ८४ बालबालिकालाई परिवारमा पुनःमिलन गराइएको छ । परिवारको आर्थिक अवस्था कमजोर भई काठमाडौँका विभिन्न इँटाभट्टा, होटल–रेष्टुराँ तथा गाडीमा काम गर्दै आएका त्यस्ता बालबालिकालाई फिर्ता गरी परिवारमा पुनःस्थापना गरिएको हो ।

परिवारमा पुनःस्थापनापछि उनीहरुमध्ये अधिकांश विद्यालय भर्ना भएको पाइएको सेभ द चिल्ड्रेन रोल्पाले जानकारी दिएको छ । “विद्यालय उमेरका त्यस्ता बालबालिका अहिले विभिन्न सङ्घसंस्थाको सहयोगमा विद्यालय अध्ययन गरिरहेका छन्”, सेभ द चिल्ड्रेन रोल्पाका प्रतिनिधि दिलकमल क्षेत्रीले भने ।

विद्यालय जान नचाहनेका लागि भने सीपमूलक तालीम दिई समाजमै पुनःस्थापना गरेको बताइएको छ । फर्निचर, हेयर कटिङजस्ता काममा संलग्न उनीहरु आयआर्जन गरी जीविकोपार्जन गर्दै आएका छन् ।

बालश्रमबाट त्यसरी फिर्ता गरिएका बालबालिकाका अभिभावकलाई आयआर्जनमा सहयोग गरेको बताइएको छ । “मानवअधिकार सचेतन केन्द्र नामक स्थानीय गैरसरकारी संस्थाको सहयोगमा बाख्रापालन, तरकारी खेती तथा खुद्रा पसललगायतका क्षेत्रमा सहयोग गरी पुनः बालश्रममा जानबाट रोक्ने प्रयास गरेका छौँ”, हुरेक रोल्पाका कर्मचारी धरेन्द्र डाँगीले भने ।

जिल्लामा विभिन्न कारण विद्यालय जान नपाएका दुई हजार ५०० वढी विद्यालय उमेरका बालबालिका रहेको जिल्ला शिक्षा विकास तथा समन्वय एकाइ रोल्पाका प्रमुख दानबहादुर गुरुङले जानकारी दिए । विद्यालय उमेरका यस्ता बालबालिकामध्ये अधिकांश गरीबीका कारण बालश्रममा संलग्न हुन बाध्य भएको बताइएको छ ।