लुम्बिनी

निकुञ्जको पूर्वपश्चिम राजमार्ग सडकखण्डमा सवारी दुर्घटनामा परी वन्यजन्तुको मृत्यु

राँझा । बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्याप्त पानीको स्रोत नहुँदा वन्यजन्तु सडक दुर्घटनामा पर्ने गरेका छन् । निकुञ्जभित्र पानीको अभाव भएपछि स्थायी स्रोत राप्ती नदी पुग्न पूर्वपश्चिम राजमार्गमा ओहोरदोहोर गर्नुपर्दा वन्यजन्तु सवारीसाधनसँग ठोक्किएर दुर्घटनामा पर्ने गरेका हुन् ।

निकुञ्जको पूर्वपश्चिम राजमार्ग सडकखण्डमा सवारी दुर्घटनामा परी वन्यजन्तुको मृत्यु हुने सङ्ख्या वृद्धि हुँदै गएको छ । पूर्वपश्चिम राजमार्गको ७५ किलोमिटर निकुञ्जभित्र पर्दछ । यो क्षेत्रमा गत वर्ष ७२ जनावर दुर्घटनामा परी मरेका थिए भने यो वर्ष ३६ वन्यजन्तुको सवारी दुर्घटनामा परी मृत्यु भइसकेको बाँके राष्ट्रिय निकुञ्ज कार्यालयका सूचना अधिकृत विष्णुप्रसाद थपलियाले जानकारी दिए ।

उनका अनुसार १०र१५ दिनयता दुर्घटनामा वृद्धि भएको छ । सवारी चालकले तीव्रगतिमा सवारीसाधन चलाउँदा दुर्घटना हुने गरेको छ । सवारीसाधनसँग ठोक्किएर दुर्घटनामा बँदेल, चित्तल, जरायो, बाँदर पर्ने गरेका छन् । दुर्घटनामा बढी बँदेलको मृत्यु हुने गरेको छ । दैनिकरूपमा कुनै न कुनै जनावर सडक दुर्घटनामा परी मृत्यु हुने गरेको पाइएको छ । निकुञ्जको चुरे क्षेत्रमा पानी अभाव रहेकाले तल्लो तटीय क्षेत्रमा पानीका लागि राजमार्ग पार गरेर वन्यजन्तु राप्ती नदी क्षेत्रमा जाने क्रममा सवारी दुर्घटनामा पर्ने गरेको निकुञ्ज कार्यालयले जनाएको छ ।

राप्ती सोनारी गाउँपालिकाको ओभरीदेखि अगैयासम्मको सडकखण्डमा बढी सवारी दुर्घटनामा परी वन्यजन्तुको मृत्यु हुने गरेको निकुञ्जको तथ्याङ्कले देखाउँछ । दुर्घटनामा संलग्न सवारीसाधन पक्राउ गरी कारवाही गरेको देखिँदैन । सूचना अधिकृत थपलियाले दुर्घटनाको सूचना ढिलो प्राप्त हुने भएका कारण सवारीसाधन पक्राउ गर्न समस्या हुने गरेको बताए । निकुञ्जको दुई ठाउँमा सवारीसाधन जाँच हुने गरेको छ । त्यो पर्याप्त छैन । रातिको समयमा बढी दुर्घटना हुने गरेको सूचना अधिकृत थपलियाले बताउनुभयो । उनका अनुसार, दुर्घटना न्यूनीकरण गर्न निकुञ्ज कार्यालयले सिसी क्यामेरा जडान वा जाँच केन्द्र थप गरी टाइमकार्ड लागू गर्ने विषयमा छलफल भइरहेको छ ।

जैविक विविधता संरक्षणसँगै लोपोन्मुख वन्यजन्तु पाटेबाघको संरक्षणका लागि नौ वर्षअघि स्थापना गरिएको बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र पर्याप्त पानीको स्रोत तथा मुहान नहुँदा वन्यजन्तुलाई पानीको समस्या भएको हो । निकुञ्जमा पर्याप्त पानी नहुँदा घाँस उत्पादनलगायत बाघको आहारा प्रजाति चित्तल, चौका, जरायोसमेत सङ्कटमा परेका छन् । कृत्रिमरूपमा पानी आपूर्ति गर्न विभिन्न प्रयास गरे पनि त्यो पर्याप्त हुन नसकेको निकुञ्जका सहायक संरक्षण अधिकृत पुरुषोत्तम शर्माले बताए । उनका अनुसार, निकुञ्जका विभिन्न स्थानमा थप पानीपोखरी निर्माण गर्ने तयारी निकुञ्जको छ ।

निकुञ्जभित्र २६ कृत्रिम पानीका पोखरी निर्माण भए पनि पर्याप्त छैनन् । यस वर्ष निकुञ्ज तथा मध्यवर्ती क्षेत्रको सहकार्यमा साना ठूला गरी ६० पोखरी निर्माण गर्ने र कतिपय स्थानमा भेटिएका पानीको मुहानलाई व्यवस्थित गर्नेतर्फ ध्यान दिएको शर्माको भनाइ छ । बाँके राष्ट्रिय निकुञ्ज सुक्खा क्षेत्र भएकाले माघ, फागुन, चैत महीनासम्म वन्यजन्तुलाई पानीको अत्यधिक समस्या हुने गरेको उनले बताए ।

“चुरेभावर क्षेत्र भएकाले पनि यहाँ पानीको अभाव छ । वनस्पति, आहारा प्रजातिलगायत बाघका लागि पानीको टड्कारो समस्या छ”, शर्माले भने, “राप्ती नदीमा स्थायी पानी भए पनि वन्यजन्तुलाई राजमार्ग पार गरेर ओहोरदोहोर गर्नुपर्दा दुर्घटनाको सम्भावना रहन्छ ।” पाँच सय ५० वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको निकुञ्जमा पछिल्लो समय वन्यजन्तुको सङ्ख्या वृद्धिसँगै पानीको समस्या खट्किएको हो ।