गण्डकी प्रदेश

पहिलो महोत्सवको आम्दानी खर्च सार्वजनिक, बचेको रकम क्याम्पसलाई

बलेवा । बागलुङ जिल्लामै पहिलोपटक शैक्षिक उन्नयनका लागि सञ्चालन भएको प्रथम बलेवा महोत्सवको आम्दानी खर्च सार्वजनिक भएको छ ।

महोत्सव सम्पन्न भएको एक महीनापछि आयोजक नारायणस्थान सामाजिक सेवा प्रतिष्ठान बलेवाले आम्दानी खर्चको विवरण सार्वजनिक गरेको हो । गत फागुन २ गते देखि १२ गतेसम्म सञ्चालन भएको महोत्सवमा झण्डै रु डेढ करोड आम्दानी भएको आयोजकले जनाएको छ ।

महोत्सवको अवसर पारेर कृष्ण गण्डकी क्याम्पस बलेवामा एक करोडको अक्षयकोष स्थापना गर्न चलाइएको सहयोग अभियान र अन्य क्रियाकलापबाट रु एक करोड ४७ लाख ५० हजार २१६ आम्दानी भएको मूल आयोजक समितिका संयोजक भरत पौडेलले जानकारी दिए । महोत्सवमा रु १३ लाख ८२ हजार १५९ खर्च भएको छ । महोत्सवको व्यवस्थापन, अतिथि सत्कार, प्रचारप्रसार लगायतका शीर्षकमा खर्च भएको कोषाध्यक्ष स्वर्गेन्द्रबहादुर खत्रीले जानकारी दिए ।

खर्च कटाएर बचेको रु एक करोड ३३ लाख ६८ हजार ५७ कृष्णगण्डकी क्याम्पसको शैक्षिक उन्नयनका लागि अक्षयकोषमा राखिने अध्यक्ष पौडेलले बताए । सहयोगी दाताको नाम, रकम र ठेगानासहितको विवरण तथा खर्चका शीर्षक तथा रकम सहितको विवरण नगरपालिकाका बलेवा क्षेत्रमा पर्ने चारवटै वडाका सार्वजनिकस्थलमा टाँसिने आयोजकले जनाएको छ । सामाजिक सञ्जाल, सञ्चारमाध्यम र सार्वजनिक स्थलमा विवरण टाँस गरेर आर्थिक पारदर्शिता अपनाइने अध्यक्ष पौडेलले बताए । बचेको रकम एक कार्यक्रमको आयोजना गरी क्याम्पसलाई हस्तान्तरण गरिने आयोजकले जनाएको छ ।