प्रदेश 2

प्रत्येक स्थानीय तहमा एउटा प्राविधिक शिक्षालय खोलिने प्रतिबद्धता :मुख्यमन्त्री राउत

सप्तरी । सप्तरीको कञ्चनरूपमा विराट नवाह ज्ञान महायज्ञ आज समापन भएको छ । कञ्चनरुप १२ श्रावणपुरमा गत चैत १ देखि शुरु भएको श्री पञ्चकन्या धार्मिक तथा सांस्कृतिक महामहोत्सव श्रीमद्भागवत धनधान्याचल विराट नवाह ज्ञान महायज्ञको शनिबार प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले समापन गरे ।

महायज्ञको समापन समारोहमा मुख्यमन्त्री राउतले छोरीलाई बोझ र अभिशापका रुपमा नहेर्न आग्रह गरे । प्रदेश सरकारले ल्याउने प्रहरी र निजामती ऐनका साथै लोकसेवा गठनपछि प्रहरीमा ५० प्रतिशत महिलाको सिट आरक्षित हुने बताए । उनले प्रत्येक स्थानीय तहमा एउटा प्राविधिक शिक्षालय खोलिने प्रतिबद्धता व्यक्त गरे ।

महायज्ञबाट सुनचाँदीबाहेक करीब ४५ लाख रकम सङ्कलन भएको महायज्ञ मूल आयोजक समिति सचिवालयका सदस्य इन्द्रनारायण श्रेष्ठले जानकारी दिए । यसबाहेक विभिन्न व्यक्तिबाट १२ कठ्ठा जमीन, प्रतिनिधिसभा सदस्य डा सूर्यनारायण यादवबाट २५ लाख ५५ हजार मूल्य पर्ने धातुको विशाल शिवजीको मूर्ति स्थापना गर्ने र राष्ट्रियसभा सदस्य गणेश तिमिल्सिनाबाट एम्बुलेन्स प्रदान गर्ने प्रतिबद्धता समेत भएको छ ।

चैत १ गते राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनाले महायज्ञको उद्घाटन गरेका थिए । सङ्कलित रकम सो क्षेत्रको धार्मिक पर्यटकीय क्षेत्रको विकास गर्न, सामुदायिक भवन निर्माण गर्न र एम्बुलेन्स खरीद गर्न सदुपयोग गरिने जनाइएको छ ।