समाचार

ओली सरकारले सहमतिमा ल्याएको सिके राउतको भूमिका मधेशमा शङ्कास्पदः काँग्रेस

काठमाडौँ । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेले सरकारले सहमतिमा ल्याएको सिके राउतको भूमिका मधेशमा शङ्कास्पद भएको आरोप लगाएका छन्।

नेपाली काङ्ग्रेस अजिरकोट–काठमाडौँ सम्पर्क समितिले यहाँ आज आयोजना गरेको ‘लोकतन्त्र, लोकतान्त्रिक मूल्यमान्यतामा नेविसङ्घ र नेपाली काङ्ग्रेसको भूमिका’ विषयक प्रशिक्षण कार्यक्रममा उनले सो धारणा व्यक्त गरेका थिए ।

“मधेशका बारेमा सरकारले जनमतसङ्ग्रह गर्ने निर्णय गरेको हो भने त्यो कुनै हालतमा काङ्ग्रेसले मान्दैन”, उनले भने । राष्ट्रियसभामा प्रमुख प्रतिपक्षी दलका नेतासमेत रहेका पाण्डेले गोरखा घर भएर काठमाडौँमा मतदाता नामावली भएका व्यक्तिलाई जिल्लामानै मतदाता नामावली सार्न आग्रह गरे ।

काङ्ग्रेस केन्द्रीय सदस्य पुष्पा भुसालले मुलुकलाई विकासको बाटोमा अगाडि बढाउन ‘एक घर, एक काङ्ग्रेस’ बनाउनु जरुरी रहेको बताए । “इतिहास बोकेको काङ्ग्रेसलाई गतिशील बनाउनु जरुरी छ”, उनले भने । नेत्री भुसालले जनतालाई अधिकार सम्पन्न बनाउनका लागि काङ्ग्रेसले ठूलो जोखिम मोलेर शान्ति प्रक्रियाको थालनी गरेको बताए । परिवर्तनका एजेण्डा काङ्ग्रेसले उठाएको उनको भनाइ थियो ।

अर्का केन्द्रीय सदस्य कमला पन्तले पार्टी नयाँ एजेण्डा लिएर अगाडि बढ्नुपर्ने बताए । “काठमाडौँ पार्टीको सङ्गठन बलियो बनाएर गोरखाको विकास हुँदैन, त्यसैले गोरखाको सङ्गठन बलियो बनाउन सबै लागौँ”, उनले भने । प्रदेशसभा सदस्य प्रकाशचन्द्र दवाडीले गाउँको विकासका लागि काठमाडौँमा बस्ने जनताले खबरदारी गर्नु जरुरी रहेको बताए । “तपाईंहरु कम्तीमा एकपटक गाउँमा गएर गाउँको विकासका बारेमा खबरदारी गर्नुहोस्”, उनले भने ।

सांसद दवाडीले गोरखाको विकासका लागि त्यहाँका जनताको सुझाव र सल्लाहअनुसार अगाडि बढ्ने प्रतिबद्धतासमेत व्यक्त गरे । काङ्ग्रेस गोरखाका सचिव नन्दुप्रसाद न्यौपाने, नेपाली काङ्ग्रेस गोरखा–काठमाडौँ सम्पर्क समितिका अध्यक्ष जनार्दन अर्याल, अजिरकोट–काठमाडौँ सम्पर्क समितिका अध्यक्ष कृष्णप्रसाद अधिकारीलगायतले गोरखा काङ्ग्रेसलाई बलियो बनाउन यस्ता अभियानले ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गरे ।