समाचार

पुनर्ताजगी प्रशिक्षण कार्यक्रम शुरु

हेटौँडा । नेपाल टेलिभिजनले एचडी प्रविधिमा रुपान्तरण भएको सन्दर्भमा प्रदेश नं ३ र ४ का स्थानीय संवाददाता तथा कार्यक्रम निर्माताका लागि आजदेखि दुईदिने पुनर्ताजगी प्रशिक्षण कार्यक्रम शुरु गरेको छ ।

प्रदेश नं ३ का मन्त्रिपरिषद्का प्रवक्ता एवं आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुङ्गेलले सो कार्यक्रमको उद्घाटन गर्दै राजनीतिज्ञ र चिकित्सकले भन्दा पत्रकारले देश र समाजको यथार्थता देखाउने भएकाले सङ्घीय सरकार तथा प्रदेश सरकारको कामलाई सकारात्मक रुपले ऐना देखाउने काम गर्नुपर्ने बताए ।

सो अवसरमा नेपाल टेलिभिजनका सञ्चालक समितिका अध्यक्ष डा महेन्द्र विष्टले नेपालमा राजनीतिक परिवर्तनपछि आर्थिक, सामाजिक परिवर्तनका साथै पत्रकारिता परिवर्तित नयाँ विचार लिएर अगाडि बढ्न जरुरी रहेको बताए । उनले परिवर्तित समयको माग अनुसार राष्ट्रिय आवश्यकता अनुसारको भुमिका नेपाल टेलिभिजनले खेल्नुपर्नेमा जोड दिए ।

सोही अवसरमा नेपाल टेलिभिजनका महाप्रबन्धक गोविन्द रोकाले प्रविधिमा फड्को मारेपछि टेलिभिजनले विषयवस्तुमा स्वच्छ प्रतिस्पर्धा गर्ने र एउटा अर्को च्यानल थप गरी पाँच च्यानल सञ्चालन गर्ने लक्ष्य लिएको जानकारी गराए ।