गण्डकी प्रदेश

सामाजिक विकृतिविरुद्व अभियान थालनी

बलेवा । सामाजिक विकृति, विसङ्गती तथा कुरीति अन्त्यका लागि बागलुङको बडिगाड गाउँपालिकाले अभियान थालेको छ । गाउँपालिकाले २८ बुँदे बडिगाड घोषणापत्र जारी गर्दै विकृति, विसङ्गती तथा कुरीतिविरुद्ध अभिायन थालेको हो ।

समाजलाई सुसंस्कृत र सभ्य बनाउन अभियान थालिएको हो । आदर्श समाज निर्माणका लागि पुरातन र सङ्कीर्ण सोचमा परिवर्तन गर्र्दै गाउँपालिकालाई नमूना बनाउने अभियान थालेको अध्यक्ष मेयरसिंह पाइजाले बताए । विकृति, विसङ्गती तथा कुरीति बढ्दै गएकाले अभियान थालिएको अध्यक्ष पाइजाको भनाइ छ ।

दिउँसै जाँड रक्सी सेवन गरेर झैझगडा गर्ने, जुवातास खेल्ने, लागुऔषधको प्रयोग गर्ने, निमुखा, अपाङ्गता भएका व्यक्ति तथा महिला र बालबालिका माथि दमन गर्ने तथा तुच्छ व्यवहार गर्ने प्रवृत्ति बढ्दै गएकाले पालिकाले अभियान थालेको प्रमुख प्रशासकीय अधिकृत प्रदीपचन्द्र सुवेदीले बताए ।

गाउँपालिकाले जारी गरेको घोषणा पत्रमा घरेलु हिंसा तथा लैंगिक बिभेद नगर्ने र हुन नदिने, जातिय बिभेदको अन्त्य, बहुबिबाह तथा बालबिबाह बिरुद्ध अभियान, लागुपदार्थ तथा मदिराजन्य पदार्थको प्रयोग, बेचबिखन र ओसारपसारमा नियन्त्रण गर्ने लगायतका २८ बुँदा समावेश गरिएका छन् । जारी गरिएको घोषणा पत्रलाई तत्कालै बस्ने गाउँ कार्यपालिकाको बैठकले निर्णय गर्ने र आगामी बैशाख १ गतेदेखि कार्यान्वयनमा लैजाने अध्यक्ष पाईजाले बताए ।
गाउँपालिकाले छिमेकी गाउँ तथा नगरपालिकालाई अभियानमा सघाउन आग्रह गरेको छ । छिमेकी पालिकाको प्रभाव गाउँपालिकामा पर्ने भएकाले अभियानको घोषणा पूर्व छिमेकी पालिकाका जनप्रतिनिधिलाई एकै ठाउँमा भेला गराएर प्रतिबद्ध बनाईएको सुवेदीले जानकारी दिए ।  नेकपाका नेता तथा बागलुङ क्षेत्र नं। २ का सांसद देवेन्द्र पौडेलले सकारात्मक सोचको विकास गर्न सबै नागरिकलाई सुझाव दिए । नेता पौडेलले भने, “आँफै सुधारिने र अरुले सुधार गर्न खोज्दा समेत नसच्चिनेलाई कानुनी व्यवस्था अनुसार कारवाहीको दायमा ल्याउनु पर्छ ।”

घोषणापत्रमा दाईजो, बोक्सी प्रथा, भ्रष्टाचार, सबैखाले बिभेद, सार्वजनिक सम्पत्तिको दुरुपयोग लगायतका बिषयमा कठोर हुने उल्लेख गरिएको छ । दया, प्रेम, माया, ममता, स्नेह, करुणा, सहानुभुती, समवेदना जस्ता भावनालाई सबैले अबलम्बन गर्ने घोषणा पत्रमा उल्लेख गरिएको छ ।