बाग्मती

उपत्यकाबाट ३३ मेट्रिक टन फोहर व्यवस्थापन

काठमाडौँ । उपत्यकाका नदी र चक्रपथ सफाइ गरी ३३ मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइबाट सङ्कलन गरिएको फोहर सम्बन्धित क्षेत्रको स्थानीय तहले व्यवस्थापन गर्ने गरेका छन् ।

स्थानीय सरकारले फोहर उठाउन प्रयोग गरेको सवारीमा हालेका आधारमा फोहरको परिमाण सार्वजनिक गर्ने गरिएको अभियानकर्मीले जनाएका छन् । वाग्मती सफाइ महाअभियानको ३०६औँ हप्तामा टेकू दोभानस्थित वाग्मती नदी किनारमा सफाइ गरी सात मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा पूर्वराजदूत भिक्ट्रीशम्शेर जबरा, अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका आयोजना प्रमुख आशिष घिमिरे, सफाइ अभियानकर्मीलगायत ३०० भन्दा बढी अभियानकर्मीको सक्रियता थियो ।

सफाइमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायत २० संस्थाको सक्रियता रहेको अधिकार सम्पन्न वाग्मती समितिकी सञ्चालक सदस्य माला खरेलले जानकारी दिए । सफाइमा छहारी संस्थाले अमेरिका र स्पेनका नौ जना पर्यटकलाई पनि उपस्थित गराएको थियो । गुह्येश्वरीमाथिको नदी सफाइको २६७औँ हप्तामा गोकर्णेश्वर नगरपालिका–४ स्थित गोकर्णेश्वर महादेव मन्दिरअघिको नदी किनारमा सफाइ गरियो । नगरपालिका–४ को संयोजनमा भएको सफाइमा कुहिने फोहरलाई जमीनमुनि गाडी नकुहिने फोहर व्यवस्थापन गरिएको वाग्मती सुन्दरता सरोकार मञ्चका अध्यक्ष उत्तम पुडासैनीले बताए ।

यसैगरी कागेश्वरी मनोहरा नगरपालिका–८ को संयोजनमा त्रिभुत्रवन अन्तर्राष्ट्रिय विमानस्थल मुनिको नदी किनारमा सफाइ गरियो । सफाइबाट चार मेट्रिक टन फोहर व्यवस्थापन गरिएको थियो । मञ्चले घरभित्रको फोहर व्यवस्थापन नगर्नेलाई नदी किनारको सफाइमा नआउन समेत आह्वान गरेको छ । घरकै फोहर व्यवस्थापन नगर्नेले पहिले त्यहीँ काम गर्न सल्लाह दिइएको मञ्चले जनाएको छ । सफाइमा आउनेलाई नदीभित्र छिर्ने गरी आवश्यक सामग्रीसहित आउन वाग्मती सुन्दरता सरोकार मञ्चले आह्वान गर्दै आएको छ । माटो र कुहिने फोहरलाई डम्पिङ साइटमा नपठाउन पनि मञ्चले सफाइ अभियानकर्मीलाई अनुरोध गरेको छ । सफाइमा मानव अधिकार तथा शान्ति समाजलगायत सङ्घसंस्थासहित स्थानीयवासी गरी ४०० भन्दा बढी अभियानकर्मीको सहभागिता थियो ।

रुद्रमती सफाइ अभियानको २६१ हप्तामा रातो पुल क्षेत्रमा सफाइ गरी एक मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा काठमाडौँ महानगरपालिका–३० का अध्यक्ष दलबहादुर कार्कीसहित २०० भन्दा बढी अभियानकर्मीको सहभागिता रहेको रुद्रमती सरोकार समितिका उपाध्यक्ष रोहित गिरीले जानकारी दिए । विष्णुमती सफाइको २३३औँ हप्तामा तारकेश्वर नगरपालिका र टोखा नगरपालिका बीचको सङ्गमस्थल मनोहर तीर्थ क्षेत्रमा सफाइ गरी छ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अभियानकर्मी शोभाकान्त पाण्डेले राससलाई जानकारी दिए । सफाइमा अधिकार सम्पन्न वाग्मती समिति अध्यक्ष नरेन्द्रराज बस्नेत, तारकेश्वर नगरपालिकाका प्रमुख रामेश्वर बोहरा, टोखा नगरपालिका–९ का वडाध्यक्ष जेपी नेपाललगायत जनप्रतिनिधि, तीनवटै सुरक्षा निकाय, स्थानीयवासी र अभियानकर्मी गरी ५०० जनाभन्दा बढीको सक्रियता थियो ।

सो अवसरमा नगर प्रमुख बोहराले विष्णुमती नदीमा हालिएको ढल व्यवस्थापन गर्न अधिकार सम्पन्न वाग्मती समितिलाई अनुरोध गरे । उपत्यकाका ठूला नदीमा ढल व्यवस्थापन गर्ने जिम्मेवारी अधिकार सम्पन्न वाग्मती समितिलाई दिइएको छ । वाग्मतीको तिलगङ्गा क्षेत्रमा २०७औँ हप्ताको सफाइ काठमाडौँ महानगरपालिका–८ तिलगङ्गा महिला समूह र आदर्श सेवा नवजीवन केन्द्रको सक्रियतामा भयो । जनचेतनामूलक सफाइका क्रममा फोहर र प्लास्टिक नजलाऔँ भन्ने सन्देश प्रवाह गरिएको सफाइ संयोजक आशा पाण्डेले जानकारी दिए।

सो अवसरमा कुहिने फोहर खाडल खनेर गाडी नकुहिने फोहर व्यवस्थापन गरिएको थियो । सफाइबाट एक मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सुन्दरीघाटस्थित वाग्मती नदी किनारमा ११६औँ हप्ताको सफाइ गरियो । ११५ जनाभन्दा बढी अभियानकर्मीको सक्रियतामा भएको सफाइमा एक मेट्रिक टन फोहर व्यवस्थापन गरिएको सफाइ संयोजक चित्र सुनुवारले जानकारी दिए ।

मनोहरा नदी सफाइको १०६औँ हप्तामा काठमाडौँ महानगरपालिका–३२ स्थित नरेफाँट क्षेत्रमा सफाइ गरी एक मेट्रिक टन फोहर व्यवस्थापन गरिएको सफाइ संयोजक चन्द्र दङ्गालले बताए । सफाइमा जिल्ला समन्वय समिति काठमाडौँकी उपप्रमुख सरिता दाहाल, नं ३२ का अध्यक्ष नवराज पराजुलीलगायत १२५ भन्दा बढी अभियान कर्मीको सक्रियता थियो ।

चक्रपथ सफाइ अभियानको १०२औँ हप्तामा बसुन्धरा चौकी तिलिङ्गाटार चौकी क्षेत्रमा सफाइ गरी नौ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अभियानकर्मी रेणुका गुरुङले जानकारी दिए । सफाइमा जम्मा भएको फोहरलाई पुनःप्रयोग गर्न सकिने र नसकिने गरी दुई वर्गमा छुट्याइएको थियो । सफाइमा सुरक्षा निकाय, हिमालयन वातावरण संरक्षण प्राली लगायत संस्थाका २५० भन्दा बढी अभियानकर्मीको सक्रियता थियो ।

आलोक नगर सफाइको १०२औँ हप्तामा त्यस क्षेत्रमा सफाइ गरी एक मेट्रिक टन फोहर व्यवस्थापन गरिएको संयोजक प्रमिला पौडेलले जानकारी दिए । सो अवसरमा प्लाष्टिक सडकमा नफालौँ भन्ने लगायत विषयमा जनचेतनामूलक अभियान चलाइएको थियो । चक्रपथ बाफल खण्ड सफाइको ८४औँ हप्तामा सोल्टी दोबाटोबाट मिलनटोलसम्म सफाइ गरी दुई मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा सुरक्षाकर्मीलगायत १५० भन्दा बढी अभियानकर्मीको सक्रियता रहेको सफाइ संयोजक ताराबहादुर कुँवरले जानकारी दिए ।

विसं २०७० जेठ ५ गतेदेखि वाग्मती सफाइ महाअभियान शुरु भएपछि देशभर सफाइ अभियानको जागरण आएको हो । सफाइ महाअभियान शुरु भएको पाँच वर्षसम्ममा पनि ठोस रुपमा काम हुन सकेको छैन । सरकारले यस वर्षलाई सरसफाइ वर्षका रुपमा घोषणा गरे पनि अहिलेसम्म प्रभावकारी कार्यक्रम ल्याउन नसकेको अभियानकर्मीको गुनासो छ । वाग्मती किनारमा सञ्चालन भएका सुङ्गुर बङ्गुर फार्म र सुकुम्बासी बस्ती हटाउन समेत सरकारले पहल गर्न सकेको छैन । वाग्मतीबाट प्रभावित भई उपत्यकाक अन्य नदी, चक्रपथ र उपत्यका बाहिर पनि केही नदी एवं शहरमा गरी १०३ स्थानमा सरसफाइ भइरहेको जनाइएको छ ।