पर्यटन/संस्कृति

साहसिक पर्यटनका पहाडी डाँडापाखा दृश्यावलोकनको मज्जा लिने पदयात्री

काठमाडौँ । वसन्त ऋतुको आगमनसँगै पर्यटकको चहलपहल बढेको छ । पदयात्रा र पर्वतारोहणका लागि उपयुक्त मानिने यो याममा साहसिक पर्यटनका गतिविधि बढी हुन्छन् । मुख्य पर्यटकीय मौसम भएकाले साहसिक पर्यटनका साथै हिमाल र पहाडी डाँडापाखाको दृश्यावलोकनको मज्जा लिन पदयात्री औधी रुचाउँछन् ।

त्यस्तै, नेपाली पर्यटनको महत्वपूर्ण हिस्सा ओगट्ने संसारकै आकर्षण पर्वतारोहणका लागि पनि वसन्त ऋतु उपयुक्त मानिन्छ । यतिखेर धेरै सङ्ख्यामा आरोही पर्वतारोहणका लागि नेपाल आएका छन् । सर्वोच्च शिखर सगरमाथा, अन्नपूर्ण, मनास्लुलगायतका उच्च हिमशृङ्खला आरोहण उनीहरुको रोजाइमा पर्छ । औषत आरोही सगरमाथा नै रोज्छन् ।

अनुपम प्राकृतिक विविधताले भरिपूर्ण नेपालको सौन्दर्यता अवलोकनका लागि विश्वभरका पर्यटक यतिखेर नेपालका विभिन्न पर्यटकीय गन्तव्य चुम्ने तर्खरमा छन् । भू–धरातलीय स्वरुप, हरिया डाँडाकाँडा, मनमोहक झरना तथा उत्तरतर्फ चाँदीका घेराझैँ टल्किएका हिमालले पदयात्री पर्यटकको आकर्षण बढाएको छ ।

पर्यटकीय मौसम शुरु भएसँगै धेरै आरोहीको चहलपहल बढेको ट्रेकिङ् एजेन्सीज एशोसिएसन अफ नेपाल (टान) का अध्यक्ष नवराज दाहालले बताए । उनले पर्यटन उद्योगलाई थप गति दिन सरकार र निजी क्षेत्रले राष्ट्रिय सङ्कल्पका साथ रणनीतिक योजना ल्याइनुपर्ने खाँचो औँल्याए । टानका अनुसार पदयात्रा पर्यटनका लागि युरोपका विभिन्न मुलुकबाट बढी सङ्ख्यामा पर्यटक आएका छन् ।

नेपाल पर्वतारोहण सङ्घ ‘एनएमए’ का महासचिव कुलबहादुर गुरुङले अनुकूल मौसम भएकाले वसन्त ऋतुमा साहसिक पर्यटकीय गतिविधि बढ्ने बताए । उनले विगतको तुलनामा यस वर्षको वसन्त ऋतुमा मौसमको अनुकूलताले आरोहण राम्रो हुने विश्वास व्यक्त गरे । पर्यटन विभागका अनुसार शुक्रबारसम्म १५ भन्दा बढी आरोहण समूहले सगरमाथा लगायत हिमाल आरोहण अनुमतिका लागि निवेदन दिएका छन् । वैशाखसम्म आरोही दलले दर्ता गराउने भएकाले यसपटक आरोही सङ्ख्या बढ्ने विभागको अनुमान छ ।

विभागका निर्देशक मीरा आचार्यले पर्वतारोहणका लागि मुख्य याम भएकाले अहिले धमाधम आरोही आउन थालेका बताए । आरोहणका प्राप्त निवेदनमध्ये आइतबार देखि आरोहण अनुमति दिन शुरु गरिने र दैनिक पाँचदेखि सात समूहलाई अनुमति दिइने निर्देशक आचार्यको भनाइ छ ।

विभागकै पर्वतारोहण शाखाको विवरणमा सन् २०१८ को यही मौसम (वसन्त ऋतु) मा सगरमाथा सहितका हिमाल आरोहणका लागि १०७ आरोही समूह गएका थिए । तीमध्ये सगरमाथा आरोहणका लागि ३४ समूह गएका थिए । सन् २०१७ को सोही याममा सगरमाथा सहितका हिमाल आरोहणका लागि १०८ आरोही दल गएका थिए । सरकारले आरोहणका लागि ४१४ हिमाल खुला गरेको छ, अझै आरोहण योग्य १३ सयभन्दा बढी हिमाल रहेको बताइन्छ ।

एनएमएका पूर्वअध्यक्ष आङछिरिङ शेर्पाका अनुसार हालसम्म आठ हजारभन्दा बढीले सगरमाथा आरोहण गरिसकेका छन् । व्यक्तिगत रूपमा मात्रै पाँच हजारको हाराहारीमा आरोहण गरेका छन् । सबैभन्दा बढी आपा शेर्पाले २१ पटक र कामीरिता शेर्पाले २२ पटक सगरमाथा आरोहणको रेकर्ड छ ।

नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्टस् (नाट्टा) का प्रथम उपाध्यक्ष अच्युत शर्मा गुरागाईंले पर्यटकीय याम शुरु भए सँगै उत्साहजनक रुपमा पर्यटकको आवागमन बढेको बताए । ठमेल पर्यटन विकास परिषद्का महासचिव भवि शर्माले मुख्य पर्यटकीय सिजन शुरु भएसँगै ठमेल, वसन्तपुर, दरबारमार्गलगायत पर्यटकीय क्षेत्रमा विदेशी पर्यटकको चहलपहल बाक्लिएको बताए । “स्वभाविक रुपले यो सिजनमा धेरै पर्यटक आउँछन् अहिले ठमेलका सडक गल्लीमा पर्यटकको भीड लागेको छ”, उनले भने ।

नेपालका चर्चित पदमार्ग लाङ्टाङ, मनास्लु, अन्नपूर्ण, खुम्बु लगायत पर्छन् । अन्नपूर्ण सर्किट ट्रेकिङका लागि विश्वमै प्रसिद्ध मानिन्छ । यो याममा अन्नपूर्ण, खुम्बु, लाङ्टाङ र मनास्लु क्षेत्रमा धेरै सङ्ख्यामा पर्यटक जान्छन् । पर्यटन विभागका अनुसार तीन हजार ५४५ ट्राभल र दुई हजार ६७५ टे«किङ कम्पनी दर्ता छन् ।

होटल एशोसिएसन अफ नेपाल (हान) का अनुसार अहिले ६० प्रतिशतको हाराहारीमा होटल बुकिङ भएका छन् । सामान्य अवस्थामा यो याममा ८० प्रतिशत होटल बुकिङ हुने गरेका थिए । हानका महासचिव विनय शाहका अनुसार अहिले पदयात्रा र हिमाल आरोहणका लागि उल्लेख्य सङ्ख्यामा पर्यटक आएका छन् । खासगरी पाँचतारे र पर्यटकस्तरीय होटलमा पर्यटकको चाप छ ।

हानका अनुसार मुलुकभर सरकारी मापदण्ड पूरा गरेका करीब एक हजार पर्यटकस्तरीय होटल छन् । पछिल्लो समय थपिएका तीनसहित अहिले १३ पाँचतारे होटल सञ्चालनमा छन् । नेपाल पर्यटन बोर्डको विवरणमा सन् २०१८ मा ११ लाख ७३ हजार ७२ विदेशी पर्यटक नेपाल भ्रमणमा आएका छन् । अध्यागमन विभागको पछिल्लो विवरणअनुसार सन् २०१९ को दुई महीना जनवरी र फेब्रुअरीमा मात्रै दुई लाख १६ हजार २१४ विदेशी पर्यटक नेपाल आएका छन् । नेपाल भ्रमणमा आउने विदेशी पर्यटकको औषत बसाइँ १३ दिन र दैनिक खर्च ४५ डलर छ । कूल गार्हस्थ्य उत्पादनमा पर्यटनको योगदान चार प्रतिशत छ ।