सुदूरपश्चिम

दलित समुदाय पार्कीको पेशा सङ्कटमा

अमरगढी । डडेल्धुरामा स्थानीयस्तरमा पाउने कच्चा पदार्थ (निगालो) पाउन छाडेपछि दलित समुदाय पार्कीको पेशा सङ्कटमा पर्न थालेको छ । अमरगढी नगरपालिका–७ का झण्डै दुई सय परिवार निगालोे व्यवसायी सङ्कटमा पर्न थालेका हुन् ।

पार्की समुदायले गाउँमा निगालोे पाउन छाडेपछि आफ्नो पेशा सङ्कटमा पर्न थालेको बताउँदै आएका छन् । अहिले आएर निगालो लोप हुन थालेपछि आफूहरुको पेशा सङ्कटमा पर्न थालेको निगालोे व्यवसायी बताउँछन् । यसबाट दैनिक गुजारा चलाउँदै आएका भए पनि आजभोलि समस्यामा परेको ६५ वर्षीय तीलबहादुर पार्कीले बताए ।
“आजभोलि निगालो पाइनँ छाडेपछि परिवारको दैनिक हातमुख जोड्न समस्या हुन थालेको छ”, उनले भने, “पहिले गाउँमा निगालोेको काम गरेर दैनिक गुजारा चलाउँदै आएको थिएँ, अहिले समस्या भएको छ ।”

“दैनिक गुजारा गर्नसमेत समस्या पर्न थालेपछि जेठो छोरा धनगढी काममा पठाएको छु, परम्परादेखि चलिआएको पेशालाई न त छोड्न नै सकिन्छ, न त यसबाट गुजारा नै राम्ररी गर्न सकिन्छ”, रती पार्कीले भने, “गाउँमा निगालो पाउन छाडेपछि निगालोेका लागि तीन दिनको यात्रा गरेर छिमेकी जिल्ला बझाङ पुग्नुपर्ने अवस्था छ ।”

बैतडी र बझाङबाट चर्को मूल्यमा निगालोे खरीद गरेर ल्याउनुपर्ने बाध्यता रहेको उनले बताए । करीब तीन दिनको पैदलयात्रा गरेर ल्याएको निगालोका सामान उत्पादन गरी बिक्री भए मात्र परिवार पाल्नुपर्ने अवस्था आएकाले गाह्रो हुने गरेको उनीहरुको भनाइ छ । दैनिक निगालोकै काम गरेर गुजारा चलाउँदै आएका यहाँका करीब २०० पार्की समुदायको यस्तै अवस्था रहे जीविका चलाउन समस्या हुने बताइएको छ । दैनिक उत्पादन गर्ने गरेका डोका, नाम्ला, सुप्पा र छापरा गाउँगाउँमा बिक्रीका लागि लैजाने गरेको उनले बताए ।

निगालो व्यवसायले सामान्य खर्च मात्रै चलाउन धौधौ परेको दलितसम्बन्धी काम गर्ने थुप्रै सङ्घसंस्था भए पनि हालसम्म कुनैबाट सामान्य सहयोगसमेत नपाएको उनले बताए । दलितका नाममा थुप्रै सरकारी तथा गैरसरकारी सङ्घ संस्था काम गर्दै आएका भए पनि परम्परागत पेशा गर्दै आएका यी दलित समुदायलाई आधुनिक सीप, तालीम र औद्योगिक व्यवस्था गर्नेमा ध्यान जानु जरुरी रहेको स्थानीय समाजसेवी लक्ष्मण कैनीले बताए ।