पर्यटन/संस्कृति

पर्यटकीय सम्भावना भएका ठाउँमा सांस्कृतिक डबली निर्माण हुने

रुपन्देही । प्रदेश नं ५ को सरकारले पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले प्रदेशका चार जिल्लामा सांस्कृतिक डबली निर्माण गर्ने भएको छ । पर्यटकीय सम्भावना भएका ठाउँमा सांस्कृतिक डबली तथा खुल्ला नाचघर निर्माण प्रक्रिया अगाडि बढेको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले जनाएको छ ।

यस वर्ष पाल्पाको तानसेन, दाङको घोरदौरा, रुपन्देहीको नुवाकोट र बर्दियाको ठाकुरद्वारामा खुल्ला नाचघर निर्माण प्रक्रिया अगाडि बढाएको सो मन्त्रालयका सचिव धनञ्जय पौडेलले जानकारी दिए ।

दर्जनौं पर्यटकीय सम्भावनालाई मध्यनजर गरेर प्रदेश सरकारले पर्यटकीय क्षेत्रमा लगानी गरेको छ । “अब प्रदेशका कला र संस्कृति नाच घरमै बसेर हेर्न पाइनेछ”, सचिव पौडेलले भने, “आन्तरिक र बाह्य पर्यटकलाई ध्यानमा राखेर नाचघर निर्माणको प्रक्रिया थालेका छौँ ।” प्रदेश सरकारले सांस्कृतिक डबली तथा नाचघर निर्माणका लागि रु दुई÷दुई करोडका दरले बजेट विनियोजन गरेको छ ।

खुुल्ला नाचघर निर्माणका लागि पाल्पाको श्रीनगरमा जग्गाको टुङ्गो लागिसकेको छ । अर्धचन्द्राकारमा निर्माण गरिने नाचघरमा ६०० जना दर्शक बसेर हेर्न मिल्ने व्यवस्था मिलाइने छ । पाल्पामा डिभिजन वन कार्यालयमार्फत नाचघर निर्माणको प्रक्रिया अगाडि बढाइएको छ ।

नाचघरको बाहिरी भागमा करुवाबाट पानीको फोहरा निस्किएको सुन्दर दृश्यसहितको कलात्मक नाचघर निर्माणका लागि डिपिआरको काम भइरहेको मन्त्रालयले जनाएको छ । यस आर्थिक वर्षमै ठेक्का भएर काम शुरु गर्ने तयारीमा मन्त्रालय छ । नाचघर निर्माणका लागि रुपन्देहीको नुवाकोटमा जग्गा खोज्ने काम भइरहेको छ । यसवर्ष नुवाकोटमा खुला नाचघरको पूर्वाधारको शुरुवात हुने छ ।

बर्दिया र दाङमा भने नाचघर निर्माणका लागि जग्गाको टुङ्गो लागिसकेको छैन । चालु आवमा बजेट अपुग हुने भएकाले बहुवर्षीय ठेक्का प्रक्रियामार्फत खुल्ला नाचघर निर्माणको काम थालनी गर्ने मन्त्रालयले जनाएको छ ।

प्रदेश नं ५ को समृृद्धिको आधार नै पर्यटन भएकाले प्रदेश सरकारले पर्यटकीय क्षेत्रको विकास र प्रवद्र्धनमा विशेष जोड दिएको उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लीला गिरीको भनाइ छ । पहिलो वर्ष कानून र कार्यविधि बनाउनमै समय वित्यो अर्को वर्ष देखिने गरी पर्यटन प्रवद्र्धनका लागि कामको प्रक्रिया थाल्छौं मन्त्री गिरी भन्छन्, “सरकार मात्र परिवर्तन नभएर व्यवस्था नै परिवर्तन भएका कारण समय लागेको छ ।”

नाचघरको निर्माणपछि आन्तरिक पर्यटकका साथै गौतम बुद्धको जन्मस्थल आउने विदेशी पर्यटकले समेत रुपन्देही, पाल्पा, दाङ र बर्दिया पुगेर प्रदेशको कला र संस्कृति हेर्न पाउने छन् । प्रदेशमा निर्माण हुने नाच घरका कारण पर्यटकको बसाइँ समेत लम्बिने प्रदेश सरकारको विश्वास छ ।