साहित्य

एकै दिनमा मोक्तानको दुई कृति बिमोचन

काठमाण्डौ । साहित्यसुधा नेपालकी अध्यक्ष कल्पना काफ्लेले उद्घोषण गरेको कार्यक्रममा शुक्रबार प्राध्यापक डा. कृष्णहरि बरालको प्रमुख आतिथ्यमा पाँचथरका युवा कवि, गीतकार तथा साहित्यकार गजेन्द्र मोक्तानले दुई कृति लोकार्पण गरेका छन्।

लाजिम्पाटमा रहेको डा. डिल्लीरमण पुस्तकालयमा आँखाभरि तिम्रो तस्बिर र सहरको सन्नाटाको भव्य रुपमा बिमोचन भयो। जसमा मोक्तानले समाज,राजनीति, संस्कार र प्रेमको परिधिमा रहेर कविता र गीत लेखेका छन्।

मोक्तान जिन्दगीको परिभाषा गुगल भरी खोज्छन भेट्दैनन्, विदेशमा कान्छाको पीँडा देखि नेपालको राजनीति, छिमेकीले हेर्ने नजर, गाँउका ढुंगेल ठुला बा गाउँ छोडेर मधेस झर्दाको दुःख प्रकट गर्छन् । मोक्तान पुरुष भएर पनि नारीको पीडामा चुर्लुम्म डुब्छन् अनि आफ्नै रस्तिबस्ति पॉंचथरलाई सम्झनामा राखेर सम्झन्छन त्यतिले मात्र पुग्दैन मोक्तानलाई रक्सीले समाजमा ल्याएको विकृतिलाई उजागर गर्छन्। साईलीको पीडा, सहर त साँच्चै जहर भएको, नेताको चिल्ला भाषणले सोझा जनतालाई पारेको प्रभावबारे पनि स्पष्ट छन्। वरपीपलको योगदानलाई उतिकै सम्मान गरेका छन् भने गीतमा पनि उत्तिकै सशक्त शब्दले सुसज्जित छन्।

कार्यक्रममा डा. कृष्णहरि बराल, डा। रामप्रसाद ज्ञवाली, डा. घनश्याम परिश्रमी न्यौपाने, वरिष्ठ कवि कलानिधी दाहाल, वरिष्ठ संगितकार शिलाबहादुर मोक्तान, गीतकार भावेश भुमरी लगायत कवि तथा संचारकर्मी रमेश पौडेलले कृतिका बारेमा प्रकाश पारेका थिए।