बाग्मती

रमणीय क्षेत्रमा बालबालिकादेखि वृद्धवृद्धासम्मलाई लक्ष्य गरी पार्क निर्माण

चितवन । भरतपुर महानगरपालिका–१ रामनगरमा लखन पार्क निर्माण गरिने भएको छ । शहरी क्षेत्रको नजिक रहेको रमणीय क्षेत्रमा बालबालिकादेखि वृद्धवृद्धासम्मलाई लक्ष्य गरी पार्क निर्माण गर्न लागिएको हो ।

लखन पार्क व्यवस्थापन समितिका अध्यक्ष जङ्गबहादुर भण्डारीका अनुसार त्यहाँ रहेको आठ बिघा सार्वजनिक जग्गामा पार्क निर्माण गरिने छ । पार्कको एकापट्टि बस्ती रहेको छ भने अर्कोतर्फ सामुदायिक वन छ । हाल सो स्थानमा आदर्श समाज सामुदायिक भवन, खेल मैदान, मन्दिर र सत्तल रहेको छ ।

भण्डारीका अनुसार ती संरचनालाई समेत उपयोग गर्ने गरी पार्क निर्माणका लागि गुरुयोजना वनाउने काम अन्तिम चरणमा पुगेको छ । गुरुयोजना निर्माणका लागि गठित विधान मस्यौदा समितिका संयोजक नारायणप्रसाद अधिकारीका अनुसार पार्कमा प्रथम शहीद लखन थापाको शालिक, राणाकालीन, पञ्चायतकालीन, बहुदलीय व्यवस्था र गणतान्त्रिक व्यवस्था झल्कने संरचना निर्माण गरिने छ । यसैगरी बाल उद्यान, पानीका फोहोरा, देवालय, वनभोज क्षेत्र र व्यवस्थित खेल मैदान पनि निर्माण गरिने छ ।

सो ठाउँमा हाल रहेका पानीका खोल्सालाई व्यवस्थित गरी रमणीय क्षेत्र बनाइने अधिकारीको भनाइ छ । लखन पार्कबाट गणेशधाम जोड्ने सडकसमेत निर्माण गरिनेछ । उनले भने, “लखन पार्कलाई जिल्लाकै नमूना उद्दानको रुपमा विकास गर्न गुरुयोजना अन्तिम चरणमा पुगेको छ ।” नारायणगढ– मुग्लिन सडकखण्ड नजिकै रहेको सो पार्क निर्माणको प्रक्रिया अघि बढाउनका लागि सङ्घीय सरकारले चालू आर्थिक वर्षमा रु १५ लाख तथा भरतपुर महानगरपालिकाले रु एक लाख बजेट विनियोजन गरेको छ । सो रकमबाट गुरुयोजनामा असर नपर्ने गरी सरसफाइ गर्ने, शौचालय निर्माण गर्ने, पानीको व्यवस्थापन गर्ने, सीमाङ्कन गर्ने, खेल मैदानको व्यवस्थापन गर्नेलगायत काम गरिने उनले बताए ।

गुरुयोजना निर्माणपछि आवश्यक बजेटका लागि सरकारसँग माग गर्ने र अन्य दाताको खोजीसमेत गरिने अधिकारीले बताए । यस वर्ष गुरुयोजनाको काम सम्पन्न भएसँगै आउँदो आवबाट निर्माणको कामले गति लिने बताइएको छ । गुरुयोजना निर्माणसँगै विस्तृत अध्ययन प्रतिवेदन पछि के कति लागत लाग्छ भन्न सकिने अध्यक्ष भण्डारीले बताए । सो क्षेत्र पवित्र तीर्थस्थल देवघाट नजिक रहेकाले त्यहाँ निर्माण हुने देवालयसहितका संरचना यहाँ आउने भक्तजनका लागि पनि उपयोगी हुने देखिन्छ ।