सुदूरपश्चिम

गाउँमै आफ्नो भविष्य खोज्दै सङ्घर्ष गरिरहेका छन् युवा

घोडाघोडी । गाउँघरमा रोजगारीको सम्भावना नदेखेका युवा भारत लगायत तेस्रो मुलुक पलायन भइरहेका खबर आइरहँदा कैलालीको घोडाघोडी नगरपालिका–८ का एक युवा भने गाउँमै आफ्नो भविष्य खोज्दै सङ्घर्ष गरिरहेका छन् ।

विगत सात वर्षदेखि स्थानीयवासी बलबहादुर सोनाहा बङ्गुरपालन व्यवसाय गर्दै आएका छन् । शुरुआतमा सात बङ्गुरका बच्चाबाट व्यवसाय थाल्नुभएका उनीसँग हाल १०० बङ्गुर छन् । “आफ्नै गाउँमा केही गर्ने सोच बनाएर यो व्यवसाय सञ्चालन गरेको हुँ”, उनले भने, “अहिले सोचेअनुरुपको आम्दानी हुन थालेको छ ।” सोनाहाको व्यवसाय देखेर जिल्ला पशु सेवा कार्यालयले रु दुई लाख अनुदान दिएको छ ।

करीब १५० बङ्गुर पाल्ने लक्ष्य राखेका सोनाहाले रु छ लाख लगानी गरी व्यवस्थित खोर बनाएका छन् । केही समयमै बङ्गुर थप्ने तयारी गरेका छन् । सोनाहाले व्यावसायिक रुपमा बङ्गुरपालन गरेर छोटो समयमै आर्थिक अवस्था सुधारेको उनका छिमेकी वसन्त चौधरीले बताए । “शुरुमा घरखर्च हामीबाट ऋण लिएर चलाउँथे”, उनले भने, “अहिले हामीले ऋण माग्नुपर्ने अवस्था छ।”

अल्पसङ्ख्यक सोनाहा जातिको कैलाली जिल्लाभर सात परिवारको मात्रै बसोबास छ । बङ्गुरपालन व्यवसाय शुरु गर्नुअघि उनको आर्थिक अवस्था निकै दयनीय थियो । “दैनिक छाक टार्न समस्या हुन्थ्यो”, सोनाहाले भने । उनलाई परिवारको खर्च धान्न साहुबाट ऋण निकाल्नु पर्ने अवस्था थियो । ऋण पाउन पनि मुस्किल थियो । साहुले पत्याउँदैनथे । यस व्यवसायमा लागेपछि सोनाहाको आर्थिक अवस्था फेरिएको छ । उनि भन्छन्, “पहिले म सोनाहा विकास समाज बर्दियाको सचिव थिए, इन्टरनेसनल संस्था जिएनको सहयोगबाट हामीले रु १७ लाख लगानीमा बङ्गुरपालन गरेका थियौँ । अहिले सोनाहा सहकारी संस्थालाई सो फार्म हस्तान्तरण गरेका छौँ ।”

सोनाहा विकास समाजमा बस्दा बङ्गुरपालनको अनुभव लिएपछि व्यवसायमा लाग्न सहज भएको उनले बताए । “सबैभन्दा मुख्य कुरा सीप र अनुभव रहेछ”, सोनाहाले भने, “जोश जाँगर र साहस भए सबै यही गर्न सकिन्छ ।” कैलालीमा बङ्गुरपालनको राम्रो सम्भावना देखेर यही पेसा रोजेको उनको भनाइ छ । सोनाहाले अहिले वार्षिक रु तीन लाख आम्दानी गर्छन् । व्यावसायिक रुपमा लागेपछि घर खर्च र छोराछोराछोरीको पढाइ खर्च व्यहोर्न सहज भएको उनको भनाइ छ ।

रोजगारीका लागि ठूलो लगानीमा विदेश गएर अर्काको मुलुकमा पसिना बगाउनुभन्दा स्वदेशमै आत्मनिर्भर बन्न सकिने उनको धारणा छ । ठूलो लगानी गरेर विदेशिनुभन्दा सोही खर्चमा मेहनत गरे पर्याप्त आम्दानी गर्न सकिन्छ । थोरै जमीनमा बढी उत्पादन कसरी गर्न सकिन्छ भन्ने सोचेर, यस व्यवसायमा लागेको सोनाहाले बताए । उनीसँग मेसान, पाख्रेबास, डिउरोक र ल्यान्ड्रेस जातका बङ्गुर छन् । एउटा बङ्गुरले सातदेखि १८ वटासम्म बच्चा जन्माएको उनले बताए । “एउटा बच्चा रु चार हजारदेखि रु पाँच हजारसम्ममा बिक्री हुन्छ”, उनले भने । बङ्गुरको मल प्रयोग गरी सोनाहाले तरकारी खेती गर्दै आउनुभएको छ । अहिले उनले मल समेत बिक्री गर्छन् । उनी भन्छन्, “मुलुकलाई आत्मनिर्भर बनाउन उद्योग र व्यावसायिक विकासमा राज्यले पनि लगानी गर्नुपर्छ ।”